१२ वर्षपछि भक्तपुरको ऐतिहासिक पुलुकिसी जात्रा सम्पन्न

१२ वर्षपछि भक्तपुरको ऐतिहासिक पुलुकिसी जात्रा सम्पन्न

भक्तपुर । मध्यपुरथिमि नगरपालिका–७ स्थित नगदेशमा १२ वर्षपछि आइतबार साँझ सुरु भएको ऐतिहासिक पुलुकिसी जात्रा आज राति सम्पन्न भएको छ । स्वस्थानी व्रत कथामा आधारित यो जात्रा आर्थिक अभाव र अन्य कारणले लामो समयदेखि रोकिएको थियो ।

स्थानीय विनोद कोजूको अनुसार, यसपटक स्थानीय बासिन्दाको पहलमा १२ वर्षपछि जात्रा पुनः सुरु गरिएको हो । जात्रा नगदेशको लाछिटोलस्थित सिद्धिगणेश मन्दिर प्राङ्गणबाट सुरु भई वाननी, छ्वास, ध्वाकसि, त्वागा, न्यागाचाल लगायतका टोलहरूमा परिक्रमा गरी मनाइएको छ ।

पुलुकिसी जात्राले श्री स्वस्थानी व्रत कथाको कथानकलाई जीवन्त बनाउँछ, जसमा हात्तीले राजकुमारको रूपमा ब्राह्मणपुत्र नवराजलाई छान्ने कथालाई प्रस्तुत गरिन्छ । यसपटक समितिले स्थानीय एलिस बाडेलाई राजकुमारको रूपमा छनोट गरी हात्ती (पुलुकिसी) मा सवार गराई टोलटोलमा जात्रा चलाइएको हो ।

परम्परा अनुसार, राजकुमार बन्नेले सबैलाई भोज खुवाउनुपर्ने र यसमा धेरै खर्च लाग्ने भएकाले जात्रा रोकिएको स्थानीय बासिन्दाको भनाइ छ । यसपटक समितिको छलफलपछि एलिस बाडेलाई राजकुमारको रूपमा प्रस्तुत गरिएको थियो ।

जात्रा सुरु हुनु अगाडि आइतबार साँझ नगदेशको लाय्कुस्थित सिद्धिगणेश मन्दिर परिसरमा स्थानीय बासिन्दालाई भोज खुवाइएको थियो । राजकुमार छनोट भएको खुसियालीमा भोजभतेर गर्दै नगदेशवासीले यो जात्रा मनाएका छन् ।

यस पर्वमा सुयोग्य बरबधुको मनोकामना राख्दै युवापिँढीले पनि व्रत बस्ने परम्परा रहेको छ । नगदेश लाय्कु दरबार समितिका सदस्य भाइजन बाडेले बताए अनुसार, काठमाडौँ र भक्तपुर नगरमा पुलुकिसी जात्रा इन्द्रजात्राको सन्दर्भमा मनाइन्छ भने नगदेशमा यो जात्रा स्वस्थानी व्रत कथामा आधारित रहेर मनाइन्छ ।