– रमेशचन्द्र घिमिरे-
एकछिन गेम खेल्ने हो जे-जे हुन्छ होस्
अाज बाको मोबाइल हुन्छ खोसाखोस्
हिसाब गर्छु भनेर दाइले तान्नुभो
फेसबुक खोल्न काकीले कैले जान्नुभो
`नयाँ नौलो यु ट्युबमा के-के अाएछ ?´
मोबाइल हेर्न काकालाई मन लागेछ
`रेडियोले के भन्छ ? यसमै सुन्छु म
नयाँ खबर सुनेर ढुक्क हुन्छु म´
हजुरबाले मागेपछि कस्को के लायो ?
तर मोबाइल खोसेर भाइले खेलायो
`फिलिम् यस्मै हेरिन्छ हलमा जान्नँ म
मोबाइल छुन नदिए भातै खान्नँ म´
यसो भन्दै दिदीले घुर्की लाउनु भो
`फोटा हेरम्´ भनेर बज्यै अाउनु भो
गीत सुन्न मन् छ रे कानमा लाएर
मोबाइल माग्दै पिरोल्छे बैनी अाएर
`कति बज्यो ?´ भनेर टाइम सोध्नुभो
झोक चलेछ अामालाई मोबाइल खोज्नु भो
`बेट्री त्यसै नसिध्याऊ सेल्फी खिचेर
फोन गर्ने हो यसको काम अङ्क थिचेर´
बाले यसो भन्नुभो चुप्प लाइयो
अाखिर बाको मोबाइल बालाई बुझाइयो
बिग्रे पनि अब त हुन्न हाम्रो दोष्
अाज बाको मोबाइल भयो खोसाखोस् ।