काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन समय आजदेखि दुई घण्टा बढाएर दैनिक १६ घण्टा पुर्याइएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार विमानस्थल पूर्वाधार विस्तार अन्तर्गत धावनमार्गको ७५ मिटर नजिक भइरहेको काम ६० प्रतिशत पूरा भएसँगै सञ्चालन समय बढाइएको हो।
गत कात्तिक २३ गतेदेखि दैनिक १० घण्टा मात्र सञ्चालनमा रहेको विमानस्थल अब बिहान ७ बजे खुल्ने र राति ११ बजेसम्म सञ्चालनमा रहनेछ। यसअघि राति १० बजेदेखि बिहान ८ बजेसम्म बन्द हुँदै आएको थियो।
हाल विमानस्थलमा समानान्तर ट्याक्सी वे, उत्तरतर्फको इन्टरनेसनल एप्रोन, ह्याङ्गर पूर्वतर्फको एप्रोन विस्तार लगायतका पूर्वाधार विकासका काम जारी छन्। विमानस्थल बन्द गरेर गर्नुपर्ने मुख्य जटिल काम पूरा भएकाले चैत १८ गतेअघि नै विमानस्थल पूर्ण रूपमा सञ्चालनमा आउने प्राधिकरणको भनाइ छ।
हाल त्रिभुवन विमानस्थलको वार्षिक क्षमता ८०–८५ लाख यात्रु रहेको छ। आयोजना सम्पन्न भएपछि १०–१५ लाख थप यात्रु व्यवस्थापन गर्न सक्ने र वार्षिक क्षमता सवा करोड पुग्ने प्राधिकरणले जनाएको छ। यो आयोजना सम्पन्न गर्न करिब १५ अर्ब रुपैयाँ लागत लाग्नेछ।