नेपालको आईटी क्षेत्रबाट वार्षिक १० खर्ब आम्दानी सम्भव: विज्ञहरू

नेपालको आईटी क्षेत्रबाट वार्षिक १० खर्ब आम्दानी सम्भव: विज्ञहरू

काठमाडौं । नेपाली कांग्रेसको उद्यमशील र साना तथा मझौला व्यवसायी विकास विभागद्वारा आयोजित नेपाल स्टार्टअप र एसएमई सम्मेलनमा वक्ताहरूले नेपालले आईटी जनशक्ति उत्पादन गर्न सके वार्षिक १० खर्बभन्दा बढी आम्दानी गर्न सक्ने बताएका छन्।

सम्मेलनको दोस्रो दिन “उद्यमशीलता र जनशक्ति विकास: आईटी क्षेत्रको लागि तयारी” विषयक छलफलमा वक्ताहरूले न्यून लगानीमा आईटी क्षेत्रमा उच्च प्रतिफल प्राप्त गर्न सकिने बताएका हुन्।

आईटी क्षेत्रमा लगानीको आवश्यकता

इनोभेटिभ नेपाल (आईएनजी) ग्रुपका प्रमुख सुलभ बुढाथोकिले नेपालमा आईटी क्षेत्रमा ठूलो सम्भावना रहेकाले दक्ष जनशक्ति निर्माणमा लगानी आवश्यक भएको बताए। उनले नेपालले आवश्यकता अनुसार जनशक्ति उत्पादन गर्न सके वार्षिक १० खर्बभन्दा बढीको आईटी सेवा निर्यात गर्न सकिने उल्लेख गरे।

उनले भने, “आईटी शिक्षालाई सहज बनाउनु आवश्यक छ। हामी हरेक आईटी कलेजमा कोटा प्रणाली हटाएर सहज पहुँचको व्यवस्था गर्न नीति निर्माणका लागि लबिङ गरिरहेका छौं।”

प्राविधिक शिक्षामा सरकारको ध्यान आवश्यक

त्रिभुवन विश्वविद्यालयका डीन प्रा. डा. महाननन्द चालिसेले व्यवसायिक र प्राविधिक शिक्षामा राज्यले विशेष ध्यान दिनुपर्ने बताए। उनले विश्वविद्यालय स्तरबाट प्राविधिक ज्ञानको विकासमा निरन्तर प्रयास भइरहेको जानकारी दिए।

“सरकारले नीति त ल्याउँछ, तर प्राविधिक क्षेत्रमा विद्यार्थीलाई कसरी जोड्ने भन्ने स्पष्ट खाका छैन। सबै संकायमा प्राविधिक र व्यवसायिक सिप समेट्ने गरी पाठ्यक्रम निर्माण गरी व्यवहारिक रूपमा लागू गर्नुपर्छ,” उनले थपे।

स्टार्टअप र उद्यमशीलताको सम्भावना

सीनासका कार्यकारी निर्देशक मिर्गेन्द्र कार्कीले परिवर्तनशील समय अनुसार स्टार्टअप, उद्यमशीलता र व्यवसायिक सिपलाई भूगोलअनुसार जागरण अभियानमार्फत अघि बढाउन आवश्यक रहेको बताए।

त्यस्तै, योङ इनोभेसनका संस्थापक विभूषण बिस्टले आईटी क्षेत्रलाई समेट्ने नीति ल्याउन सके नेपालले पाँच गुणा बढी आईटी जनशक्ति उत्पादन गर्न सक्ने धारणा राखे।

खिम्भु टेककी सीईओ कार्भिका थापाले स्टार्टअप सफल हुन सिप विकास अनिवार्य भएको बताइन्। “उद्यमशीलता चुनौतीहरूसँग जुध्ने मानसिकता हो। व्यवसायिक सफलता रुचि र सिपमा आधारित हुनुपर्छ,” उनले भनिन्।

नेपालको आईटी क्षेत्रलाई प्रभावकारी रूपमा अघि बढाउन तीनै तहका सरकारले दक्ष जनशक्ति उत्पादनमा ध्यान दिनुपर्नेमा विज्ञहरूले जोड दिए। सम्मेलनले भर्खर व्यवसाय प्रारम्भ गर्ने उद्यमी तथा व्यवसायीलाई प्रोत्साहन गर्ने र समग्र व्यवसाय प्रवद्र्धन गर्ने विश्वास आयोजक उर्मिला थपलियाले व्यक्त गरिन्।