रित्तिदै देश, दैनिक साढे ४ हजार युवा छोड्छन् नेपाली भूमि

रित्तिदै देश, दैनिक साढे ४ हजार युवा छोड्छन् नेपाली भूमि

काठमाडौं । देशमा रोजगारीको अवसर छैन। युवामा भविष्य र परिवारको चिन्ता छ। देशमै रहेर केही उद्यम गरौं भने पनि राजनीतिक तरलताले लगानीको वातावर्ण छैन। यस्तो अवस्थामा नेपाली युवाहरूको विकल्प वैदेशिक रोजगार हुने गरेको छ।

नेपालबाट दैनिक सरदर चार हजार ७५४ नेपाली विदेशिने गरेको तथ्यांक छ। २०८१ को मंसिरसम्म करिब ११ लाख नेपाली विदेशिएको अध्यागमन विभागले जनाएको छ। ८ महिनामा ११ लाख ४१ हजार ९१ जना विदेशिएका छन्। सो समयमा नेपाल फर्किनेको संख्या ९ लाख ४१ हजार ९४१ जना छन्। दैनिक ३ हजार ९२४ जना स्वदेश फर्किने गरेको तथ्यांकले देखाएको छ।

अध्यागमन विभागका अनुसार सबैभन्दा धेरै असोज महिनामा करिब १ लाख ६४ हजार १७ जना नेपाल भित्रिएका छन्। सबैभन्दा बढी जेठमा करिब १ लाख ६९ हजार २२३ जना विदेशिएका छन्।

मंसिरमा १ लाख ३८ हजार ८३९ , कार्तिकमा १ लाख ३२ हजार ११३, असोजमा १ लाख ४७ हजार ५७१ , भदौमा १ लाख ४६ हजार ३९७, साउनमा १ लाख ४० हजार १७ , असारमा १ लाख ४० हजार ८९८, जेठमा १ लाख २८ हजार २३ वैशाखमा १ लाख ६७ हजार २३३ गरी करिब ११ लाख ४१ हजार ९१ जना विदेशिएका छन्।

विदेशिने पुरूषको संख्या ८ लाख १२ हजार ८९९ र महिलाको संख्या २ लाख ४८ हजार २२३ छ। अन्य ११६ जना छन्। यसले नेपालबाट बाहिरिनेको डर लाग्दो तथ्यांक देखाएको छ। देशको दक्ष जनशक्ति बाहिरिँदा देशलाई ठूलो घाटा बेहोरिरहेको छ। उनीहरूले आफ्नो श्रम र सीप विदेश निर्माणमा खर्चिदा देशले ठूलो घाटा बेहोर्नु परेको बताइएको छ।