

बर्दघाट । सामाजिक क्षेत्रमा क्रियाशील चौधरी फाउन्डेसनले सुस्ताका ३२ महिलालाई सौन्दर्यसम्बन्धि तालिम दिएको छ। महिलाहरुलाई स्वरोजगार बनाउनुका साथै आयआर्जनमा सजिलो होस् भन्ने हेतुले फाउन्डेसनले उनीहरुलाई तालिम दिएको हो ।
पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका १ रुपौलियामा दुई महिने आधारभूत तालिम प्रदान गरिएको फाउन्डेसनले जनाएको छ। उनीहरुलाई एक कार्यक्रमका बीचमा प्रमाणपत्र प्रदान गरिएको छ । तालिममा सहभागीहरुले आफूहरुलाई उद्यमशील बन्न यो तालिमले सहयोग पुग्ने बताए । सीप नभएका र केहि गर्न चाहने महिलाहरुका लागि ब्यूटिसियन तालिम उपयोगी भएको तालिमका सहभागीको भनाई छ ।
फाउन्डेसनले यसअघि पनि पश्चिम नवलपरासीमा महिलाहरुलाई सौन्दर्यसम्बन्धि तालिम दिइसकेको छ । तालिमका सहभागीहरु धेरैले आफ्नै व्यवसायसमेत सुरु गरिसकेका छन् । महिलाहरुलाई उद्यमशील बनाउन र उनीहरुलाई आयआर्जनसँग जोड्न फाउन्डेसनले विभिन्न सहयोगका कार्यक्रम गर्दै आएको छ ।
