पश्चिमी न्यूनचापीय प्रणाली सक्रिय : आज साँझदेखि वर्षा र हिमपात हुने

पश्चिमी न्यूनचापीय प्रणाली सक्रिय : आज साँझदेखि वर्षा र हिमपात हुने

काठमाडौं । शुक्रबार साँझदेखि देशको पश्चिमी भूभागबाट पानी पार्ने प्रणाली भित्रने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पश्चिमी न्यूनचापीय प्रणाली सक्रिय भएसँगै शुक्रबार साँझदेखि नेपालका अधिकांश स्थानमा आंशिकदेखि साधारणतया बदलीको सम्भावना छ।

मनसुनी प्रणाली सक्रिय हुँदा शुक्रबार अपराह्नदेखि शनिबारसम्म सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका अधिकांश स्थानमा तथा गण्डकी, बागमती र कोशीका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

सुदूरपश्चिम र कर्णाली प्रदेशका धेरै स्थान र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा तथा गण्डकी, बागमती, मधेस र कोशी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ।

मनसुनी प्रणाली सक्रिय हुँदा देशभरको तापक्रमसमेत घट्ने र चिसो बढ्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। वर्षा, हिमपात तथा चिसोका कारण दैनिक जनजीवन, स्वास्थ्य, पर्वतारोहण, हवाई/यातायातलगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकोले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउन मौसम पूर्वानुमान महाशाखाले सबैमा आग्रह गरेको छ।