

काठमाडौं । हाल देशमा पश्चिमी वायु साथै पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पश्चिमी वायुसँगै पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण आज हिमाली क्षेत्रमा आंशिक बदली भई देशका केही उच्च क्षेत्रमा हल्का हिमपातको सम्भावना छ।
अहिले बिहान देशको मधेस, लुम्बिनी, बागमती र गण्डकी प्रदेशमा साधारणतया बदली रही देशका बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ। बिहानको समयमा तराई तथा उपत्यका एक दुई स्थानमा हुस्सु/कुहिरोको लागेको छ।
आगामी २४ घन्टामा देशको उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको साथै बिहानको समयमा तराई तथा उपत्यका केही स्थानहरूमा हुस्सु/कुहिरोको सम्भावना रहेको महाशाखाले जनाएको छ।
आज काठमाडौं उपत्यकाको आकाशमा पश्चिमी न्यूनचापीय प्रणालीका कारण बादल लागेको छ। मध्याह्नतिर यो हट्ने छ। साथै मंगलबारको तुलनामा आज मौसम सफा रहने छ। यहाँ अहिलेको न्यूनतम तापक्रम ७.५ मापन गरिएको छ भने अधिकतम तापक्रम १६ देखि १८ डिग्री सेल्सियसका बीच रहनेछ। यसबाट दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई उड्डयनमा क्षणिक/आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ।