भूगोल साहित्य समाजको वार्षिकोत्सव तथा साधारणसभा सम्पन्न

भूगोल साहित्य समाजको वार्षिकोत्सव तथा साधारणसभा सम्पन्न

काठमाडौं । भूगोल साहित्य समाजको पाँचौँ वार्षिकोत्सव तथा साधारणसभा सम्पन्न भएको छ । कार्यक्रम समाजको सभाकक्ष दरबारमार्गमा आयोजना गरिएको थियो । दुई सत्रमा सम्पन्न कार्यक्रम मध्ये पहिलो सत्रका प्रमुख अतिथि वरिष्ठ गजलकार एवम् अनुवादक रामबहादुर पहाडी थिए ।

पहिलो सत्रको कार्यक्रममा वि.सं. २०८१ सालको झगु–लक्ष्मी आचार्य भूगोल साहित्य पुरस्कार वरिष्ठ साहित्यकार हिरण्यकुमारी पाठकलाई प्रदान गरिएको थियो । पुरस्कार रु.२५०२५।– नगद राशी तथा सम्मानपत्र सहित प्रदान गरिएको हो । २०७९ सालमा स्थापित प्र्रत्येक वर्ष प्रदान गरिने सो पुरस्कार पहिलोपटक इतिहासकार एवम् नियात्राकार देवीचन्द्र श्रेष्ठलाई र गत वर्ष श्री रामबहादुर पहाडीलाई प्रदान गरिएको थियो । सो पुरस्कार समाजका आजीवन सदस्य ओम आचार्यले स्थापना गरेका हुन् ।

पुरस्कृत स्रष्टा पाठक लामो समय राष्ट्रिय वाणिज्य बैंकको सेवा गरी निवृत्त भएका पूर्व बैंकर हुन् । उनी नेपालको बैंकिङ इतिहासमै प्रथम महिला व्यवस्थापक हुन् । साहित्य सिर्जना तथा विभिन्न संस्थाको नेतृत्व र साहित्यिक पत्रिकाको सम्पादन समेत गरी उनले साहित्यका क्षेत्रमा देखाएको सक्रियताका साथै भाषा साहित्यको क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै समाजले उनलाई पुरस्कृत गरेको हो ।

कार्यक्रममा आफ्नो मन्तव्य राख्दै पुरस्कृत व्यक्तित्व हिरण्यकुमारी पाठकले पुरस्कार र सम्मानको लागि नभइ आफूले एक सचेत नागरिकको रूपमा लेखन मार्फत आफूलाई सधै सक्रिय राख्दै आएको बताइन् र समाजको उत्तरोत्तर प्रगतिको कामना गरिन् । कार्यक्रममा बोल्दै प्रमुख अतिथि रामबहादुर पहाडीले समाजका साहित्यिक कृयाकलापको प्रशंसा गरे भने आगामी दिनमा पनि समाजले अझ प्रभावकारी कार्यक्रमहरू गर्दै जाओस् भन्ने शुभेच्छा व्यक्त गरे । कार्यक्रममा विनय रावल स्मृति प्रतिष्ठानका अध्यक्ष जयवहादुर चन्द, कवि मित्रलाल पंज्ञनी र महेशराज खरेलले शुभकामना व्यक्त गरेका थिए ।

उपाध्यक्ष दिनेश विक्रम थापाले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा पुरस्कृत व्यक्तित्व पाठकको व्यक्तित्व र योगदान बारे समाजका कार्यसमिति सदस्य मुकुन्द अर्यालले प्रकाश पारेका थिए ।

दोस्रो सत्रमा सम्पन्न साधारणसभाले समाजको आर्थिक वर्ष २०८०/८१को आर्थिक तथा साङ्गठनिक प्रतिवेदन पारित गर्नुका साथै विनोद नेपालको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ । दुबै सत्रको सभापतित्व समाजका अध्यक्ष विनोद नेपालले गरेका थिए भने कार्यक्रम सचिव शैलेन्द्रकुमार शाहले सञ्चालन गरेका थिए ।