जबर्जजस्तीकरणी सम्बन्धि कानुनमा सांसदहरुको चासो, के अब संशोधन हुँदैछ कानुन ?

जबर्जजस्तीकरणी सम्बन्धि कानुनमा सांसदहरुको चासो, के अब संशोधन हुँदैछ कानुन ?

काठमाडौं । जबर्जजस्तीकरणी सम्बन्धि कानुन संशोधन गर्नुपर्नेमा सांसदहरुले गम्भीर चासो देखाएका छन् । पछिल्लो समय कानुनको दुरुपयोग गरेर झुटा अभियोग लगाउने र दुख दिने नियतले घटनाहरु भइरहेको भन्दै सांसदहरुले चासो देखाएका हुन् । उनीहरुले अहिलेको कानुनमा गम्भीर संशोधन हुनुपर्ने धारणा राखेका छन् । सांसदहरुले जबरजस्ती करणी सम्बन्धीको कानूनलाई तत्काल संशोधन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै सांसदहरुले जबरजस्ती करणी सम्बन्धीको कानूनलाई तत्काल संशोधन गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् । उनीहरुले प्रतिशोधपूर्ण रुपमा व्यक्तिलाई फसाउन जबरजस्ती करणीको मुद्दा लगाइने गरिएको भन्दै तत्काल संशोधन गर्नुपर्ने बताए ।

बैठकमा बोल्दै नेकपा माओवादी केन्द्रका सांसद पूर्णबहादुर घर्तीले जबरजस्ती करणी र लागुऔषध सम्बन्धी कानूनलाई परिवर्तन गर्नुपर्ने बताए । उनले सो कानूनले निर्दोष पुरुषहरु पीडित हुनुपर्ने अवस्था आएको भन्दै सुधार गर्नुपर्ने बताए ।

नेकपा एकीकृत समाजवादीका सांसद शेरबहादुर कुँवरले जबरजस्ती करणी सम्बन्धी कानूनमा सुधार गर्नुपर्नेमा जोड दिए । यो विषयलाई केवल पुरुषहरुको मात्रै विषय नबनाएर सबैको सामुहिक आवाज बनाउनुपर्नेमा उनको भनाई थियो ।

उनले भने ‘कानून सुधार गर्ने कुराहरुमा जबरजस्ती करणी सम्बन्धी कानून, बन्दी गृहमा राखिएका बालबालिकाको सबैको पीडा सुन्दाखेरी त्यसमा केही सुधार ल्याउनुपर्ने हुन्छ । यो सबैको सामुहिक आवाज पनि बन्नुपर्छ । कानूनलाई परिमार्जन गर्नैपर्ने हुन्छ । यसमा ध्यान दिनुप¥यो ।’

नेकपा एमालेका सांसद चन्द्रबहादुर विश्वकर्माले कानूनमा सुधार गरेर १५ वर्ष मुनिकालाई मात्रै बालबालिकाको रुपमा परिभाषित गर्नुपर्ने धारणा राखे । एमालेकि सांसद प्रतिक्षा तिवारीले जबरजस्ती करणीको मुद्दालाई हेर्ने दृष्टिकोण फरक हुनुपर्ने बताइन् । ‘जबरजस्ती करणीका मुद्दाहरुलाई हेर्ने तरिका फरक हुनुपर्छ । उखान नै छ, मिल्दाखेरी चमत्कार नै चमत्कार हुने । कुरो नमिले पछि बलात्कार भनेर जान्छ,’ उनले भनिन् ।

जनता समाजवादी पार्टीकि सांसद रञ्जुकुमारी झाले ६० प्रतिशत युवाहरु सोही मुद्दाका कारण थुनामा रहेका भन्दै ६० प्रतिशत जनशक्तिलाई थुनेर देशको विकास र समृद्धि हुन नसक्ने बताइन् । उनले भनिन्, ‘जर्बजस्ती करणी सम्बन्धी कानूनलाई तत्काल संशोधन गर्नुपर्छ । जसको कारणले ६० प्रतिशत युवाहरु थुनामा छन् । देशको ६० प्रतिशत जनशक्तिलाई थुनेर देशको विकास, समृद्धिको कुरा गर्छौ । जबरजस्ती करणीको कानुनमा तत्काल संशोधनमा जानुपर्छ ।’

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले जबरजस्ती करणीको परिभाषालाई अझ स्पष्ट पार्नुपर्ने बताइन् । ‘जर्बजस्ती करणी होइन भने के हो त ? त्यसको स्पष्टतामा जानुपर्छ ।

‘अहिले कानुनमै जबरजस्ती करणी लेखिदिएको कारणले गर्दाखेरी त्यसमा टेकेन भने अरु मुद्दा गर्नै नपाउने स्थिति भएको कारणले त्यहीमा सबै मुद्दा गर्न गएको अवस्था छ,’ उनले भनिन्, ‘त्यसैले यो जबरजस्ती करणी होइन भने के हो त रु त्यसमा स्पष्टता आउनुपर्छ । धोका दिएको पनि एक प्रकारको गलत हो नि त । बलात्कार होइन भनेदेखि धोका त होला । बरु त्यसलाई वर्गिकरण गरौँ । यसलाई कसरी परिभाषित गर्न सकिन्छ गरौँ ।’

नेपाली काँग्रेसकी सांसद नागिना यादवले राजनीतिक प्रतिशोधका कारण निर्दोष व्यक्तिलाई फसाएर कारागार पुर्याइने गरेको बताइन् ।

‘जेलमा बढी अभियुक्तहरु हुनु बढी राजनीतिक प्रतिशोध देखियो । राजनीतिक प्रतिशोधले गर्दाखेरी निर्दोष व्यक्तिलाई पनि फसाइएको छ । अनुसन्धान राम्रो भएको छैन, उनले भनिन्, जस्तोः जबरजस्ती करणीको मुद्दा लगायो त्यसको डिएनए परिक्षण त हुनुपर्छ नि । भएको छैन । तर मुद्दा लगाइएको छ । अनुसन्धानको प्रविधिहरुमा अपडेट गर्दै जानुपर्छ ।’

सांसदहरुले देशभरका कारागार र बाल सुधारगृहहरुको अवस्था सुधार गर्न पनि सरकारलाई आग्रह गरेका छन् ।