चितवनको दियालो बंगला दरबार सर्वसाधारणका लागि खुला

चितवनको दियालो बंगला दरबार सर्वसाधारणका लागि खुला

चितवन।भरतपुर भ्रमण वर्ष २०२४ को सन्दर्भमा चितवनको ऐतिहासिक दियालो बंगला दरबार आईतबारदेखि सर्वसाधारणको अवलोकनका लागि खुला गरिएको छ ।

आइतबार आयोजित एक कार्यक्रमका बीच संस्कृति, पर्यटन तथा नागरिक पर्यटनमन्त्री हितबहादुर तामाङले दियालो बंगला दरबार अवलोकनको शुभारम्भ गरे । विस २०१९ निर्माण भएको दरबार नेपाल ट्रष्ट र भरतपुर महानगरको पहलमा सर्वसाधारणको लागि अवलोकन गर्ने व्यवस्था मिलाइएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै पर्यटनमन्त्री तमाङले भरतपुर भ्रमण वर्ष २०२४ सफल बनाउन दियालो बंगलाले महत्वपूर्ण सहयोग पु¥याउने बताए । मन्त्री तामाङले पूर्व राजाहरुले पूर्व पश्चिम र राज्यको सबै ठाँउमा शासन सत्ता चलाउनको लागि उपयोग गरेको अहिले जनतालाई अध्ययन तथा अवलोकनका लागि खुला गर्ने कार्य महत्वपूर्ण रहेको उल्लेख गरे ।देशको मध्य भागमा रहेकोले दियालो बंगला खुला गरेपछि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकको लागि महत्वपूर्ण गन्तव्य बन्ने उनको विश्वास छ ।

त्यस्तै महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर भ्रमण वर्ष २०२४ को सन्दर्भमा अघि सारेका बिभिन्न योजना मध्ये दियालो बंगला सर्वसाधारणका लागि खुला गर्ने कार्य पनि महत्वपूर्ण रहेको बताइन्।भ्रमण वर्षको अवसरमा वन्यजन्तु उद्धार केन्द्रलाई ओपन जुको रुपमा सञ्चालनमा ल्याइएको र भारतीय पर्यटकलाई सहज आवगमनको लागि ठोरी छोटी भन्सार सञ्चालनमा ल्याइएको उनको भनाई छ ।

त्यस्तै नेपाल ट्रष्टका सदस्य सचिव सुनिता गौतमले राजाहरुको विलासी जीवनशैली दरबार घुमेपछि बुझ्न सकिने उल्लेख गरीन् । भरतपुर वडा नम्बर १ मा अवस्थित उक्त दरबारमा राजा महेन्द्रको निधन भएकाले ऐतिहासिक मानिएको छ । विशेष गरी हिउँदमा चिसो छल्न राजा र राजपरिवारका सदस्य दियालो बंगला बसाइँ गर्ने गरेकाले यसलाई शीतकालीन दरबार पनि भन्ने गरिन्छ। दियालो बंगला क्षेत्र ५२ बिघाको छ ।