उपलब्धि सहकारी स्थापना दिवसमा तीन स्रष्टा सम्मानित

उपलब्धि सहकारी स्थापना दिवसमा तीन स्रष्टा सम्मानित

काठमाडौं । उपलब्धि बहुउद्देश्यीय सहकारी संस्थले ११ औं स्थापना दिवसको अवसरमा तीन साहित्यकार तथा पत्रकारलाई सम्मान गरेको छ । वरिष्ठ आख्यानकार ध्रुवचन्द्र गौतमद्वारा स्थापित/ संरक्षित एवम् ‘दीप–गोविन्द स्मृति कोष’काे सम्मानबाट तीन स्रष्टाहरूलाई सम्मानित गरिएको हो ।

‘दीप–गोविन्द स्मृति सम्मान–२०७५’ वरिष्ठ साहित्यकार कृष्ण गौतमलाई प्रदान गरिएको छ । यो सम्मान उहाँलाई नेपाली साहित्यका विविध रचना एवम् उत्कृष्ट समालोचना लेखनमा निरन्तर योगदान दिएबापत प्रदान गरिएकाे हाे ।

त्यसैगरी ‘ध. च. गोतामे स्मृति सम्मान–२०७५’ वरिष्ठ आख्यान ध्रुव सापकोटा प्रदान गरिएको छ । यो सम्मान उहाँलाई नेपाली आख्यानलेखनमा निरन्तर योगदान दिएबापत प्रदान गरिएको हो ।

त्यसैगरी ‘गोपाल गोतामे स्मृति सम्मान–२०७५’ चर्चित पत्रकार गुणराज लुइँटेललाई प्रदान गरिएको छ । उहाँलाई नेपाली सिर्जनशील पत्रकारितामा निरन्तर योगदान दिएबापत उक्त पुरस्कार दिइएको हो । कार्यक्रममा बुद्विजिवी निलाम्बर आचार्यले तीन स्रस्ष्टालाई सम्मान गर्नुभएको थियो ।

सो अवसरमा बोल्दै आचार्यले देश बनाउन सबै एकजुट भएर लाग्नुपर्ने बताउनुभयो । राजनीतिले मानिसका मन र भावनाहरु विभाजित गर्ने भएपनि साहित्यले जोड्ने र बदल्ने उहाँले बताउनुभयो ।

‘दीप–गोविन्द स्मृति कोषका संरक्षक ध्रुवचन्द्र गौतमले पुस्कार कोष स्थपाना गर्दा धेरै कठिनाई भएको स्मरण गर्दै उपलब्धि सहकारीमार्फत सम्मान गर्न पाएपछि सजिलाे र दिगो भएको बताउनुभयो ।

संस्थाका सल्लाहकार प्रा. डा. डिल्लीराम दाहालले संस्थाले सहित्य संरक्षणसँगै आर्थिक विकासमा सशक्त जोड दिनुपर्ने बताउनुभयो ।

नागरिक दैनिकका प्रधान सम्पादक गुणराज लुईटेलले पत्रकारिता हतारको साहित्य भएपनि पत्रकारिता सिद्वान्तबाट विचलित हुन नहुने बताउनुभयो । ‘पत्रकारिता आवाजविहिनहरुको आवाज बन्न सक्नुपर्छ’ उहाँले भन्नुभयो । वरिष्ठ साहित्यकार ध्रुव सापकोटाले साहित्यले समाज सुधार गर्न ध्यान दिनुपर्ने बताउनुभयो ।

साहित्यकार निलम कार्की निहारिकाले महिला अस्मितामा आँच आउने अभिव्यक्ति दिन कसैलाई छुट नभएको बताउनुभयो । ‘माफी माग्दैमा चरित्रमा लागेको दाग मेटिदैँन’ उहाँले भन्नुभयो ।

वरिष्ठ साहित्यकार कृष्ण गौतमले सन्यास लिने उमेरमा पाएको सम्मानले अझ उर्जा थपेको र लेखनमा अझै लाग्न प्रेरित गरेको बताउनुभयो ।

वरिष्ठ साहित्यक पत्रकार नगेन्द्रराज शर्माले आर्थिक कारोबार गर्ने सहकारीले साहित्यिक कार्यक्रममा संरक्षण गर्नु खुसीको कुरो भएको बताउनुभयो ।

वरिष्ठ पत्रकार एवम् संस्थाका सल्लाहकार पुरुषोतम दाहालले गलत अभिव्यक्ति बोल्नेलाई कारवाही हुनुपर्ने बताउनुभयो ।

राष्ट्रिय सहकारी महासंघका सञ्चालक चन्द्रप्रसाद ढकालले सहकारीले पेशा, व्यवसाय भन्दा पृथक कार्यक्रम गर्नु रचनात्मक काम भएको बताउनुभयो ।

संस्थाका अध्यक्ष देवराज शर्माको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन प्रकाश थापा, स्वागत संस्थागत योजना तथा विकास उपसमितिका संयोजक विपिन शर्माले गर्नुभएको थियो । कार्यक्रममा कलाकार लक्ष्मी गिरीले कविता वाचन गर्नुभएको थियो । सम्मानित स्रष्टाकाे बारेमा स‌ं‌स्थाका साहित्यिक विकास समितिका स‌ंयाेजक राेशन थापाले चर्चा गर्नुभएकाे थियाे ।

संस्थाले स्थापना दिवसको अवसरमा संस्थाका सदस्यका छोराछोरीलाई एसईईमा उत्कृष्ट अंक ल्याएको भन्दै सम्मान गरेको थियो ।