संसदमा हुलहुज्जत गर्न पाइदैंन, बस्न मन नलाग्ने सांसद राजीनामा दिएर सडकमा जानुस् : सांसद माधव सापकोटा

संसदमा हुलहुज्जत गर्न पाइदैंन, बस्न मन नलाग्ने सांसद राजीनामा दिएर सडकमा जानुस् : सांसद माधव सापकोटा

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले संसदमा हुलहुज्जत नगर्न आग्रह गरेका छन् । संसद चल्न नदिने भए राजीनामा दिएर सडकमा जान चुनौती दिए । ‘भर्खर माननीय ज्ञानेन्द्र शाहीले भन्नुभयो, संसद चल्दैन, नचलाउनुस् केही छैन’ उनले भने, ‘संसद बन्द गर्न, अराजकता प्रदर्शन गर्न, हुलहुज्जत गर्न, मनलागि गर्न जनताबाट निर्वाचित भएर आएको हो ? तपाईँहरु शासन व्यवस्थाको कुरा पनि गर्नुहुन्छ, तपाईँहरुलाई यो शासन व्यवस्था गलत छ भन्ने लाग्दछ भने सांसदको पदबाट राजीनामा गरेर सडकमा जानुस् ।’ सरकारको नेतृत्वकर्ता दलका सांसद सापकोटाले प्रतिपक्षी दलका सांसदले संसदमा हुलहुज्जत गरेको भन्दै संसदमा बस्न मन नलागेको भए राजीनामा गरेर सडकमा जान भनेका हुन् ।

संसदका महासचिवको तीन वटा नागरिकताको विषय संसदमै उठ्यो

संघीय संसदका महासचिवको तीन वटा नागरिकता रहेको भनी प्रतिनिधि सभाको बैठकमै विषय उठेको छ । सापकोटाले प्रतिपक्षी दलहरुलाई संसदको महासचिवको तीन वटा नागरिकता रहेको विषय थाहा छ कि छैन भनी प्रश्न समेत गरेका छन् ।

‘म भन्न चाहन्छु प्रतिपक्षका सांसदहरुलाई, संसदका महासचिवका तीन वटा नागरिकता र दुइ वटा पासपोर्ट पनि तपाईंहरुले उठाएका कुराहरुमा थप्नुहोस् न । संसदमा हाम्रो महासचिवको तीन वटा नागरिकता छ, दुइ वटा पासपोर्ट छ त्यो थप्नु हुन्न ?’