

काठमाडौं । माधवनारायणका व्रतालुहरूले शुक्रबार बिहानै पशुपतिस्थित बागमती नदीमा स्नान गरेका छन्। पौराणिक शहर साँखुमा सुरू भएको माधवनारायण स्वस्थानीका व्रतालुहरू बिहीबार साँझै पशुपतिनाथ आएका हुन्।
एक महिने माधवनारायण स्वस्थानीका व्रतालु अनुष्ठानकर्ताहरू एवम् रितले उपत्यकाका अन्य नदी तलाउमा पनि यसैगरी पूजापाठ तथा स्नान गर्छन्। एक महिने व्रत अवधिमा अनुष्ठानकर्ताहरू पशुपति, फर्पिङ, दक्षिणकाली, बनेपा, पनौती, शंखमूललगायत तीर्थस्थलमा पैदलयात्रा मार्फत् दर्शनका लागि जाने गर्दछन् ।

पौष शुक्ल पूर्णिमादेखि सुरू भएको व्रत माघ शुक्ल पूर्णिमासम्म लाग्नेछ। माधवनारायणको व्रत बस्ने व्रतालुले पूर्णिमाको अघिल्लो दिन हातरगोडाको नङ काटी, एकचित्त भई, निराहार बस्ने, पूर्णिमाको बिहानै नदीमा स्नान गरी पूजा गर्ने, शङ्खजल ग्रहण गरी मन्त्रोच्चारण गर्ने प्रचलन छ।
मन्त्रोच्चारण गरेपछि शंखजल ग्रहण गरेपछि कसैलाई छुन नहुने तथा जुत्ता लगाउन नहुने परम्परा छ। माधवनारायणको पूजा नगरेमा स्वस्थानीको व्रत र पूजा अधुरो रहने बताइन्छ। स्वस्थानी र माधव नारायणको पूजा गरेमा सुख, शान्ति र समृद्धि मिल्ने धार्मिक विश्वास रहिआएको छ।