मैले उपन्यास लेख्दै गर्दा सञ्चारकर्मी एवम् बुक-हिल पब्लिकेसनका प्रकाशक भूपेन्द्र खडका भाइ र पवन आचार्य भाइहरूलाई,आस्तिक छोराको स्टुडियो पुल्चोक ३मा जाने बेलामा रेडियो कान्तिपुर र पुल्चोक ३ अगाडिको पिपल बोट मुनी स्थिति चिया पसलमा भेट हुँदा, मैले यस्तो भनेकी थिएँ -“मैले उपन्यास लेख्दै छु नि !
प्रकाशक द्वय नै छिमेकी भाइहरू परेको हुदा मेरो उपन्यास त भाइहरूको बुक-हिल पब्लिकेसनले नै छापिदिनु पर्यो नि । त्यसैले मैले उपन्यास लेख्दैछु है भनेर पूर्व जानकारी दिएको नि भाइहरूलाई !”
उहाँहरूले पनि सहजरूपमा र रमाइलो पारामा “ए हो र दिदी ? राम्रो राम्रो लेख्नुस लेख्नुस ! दिदीको उपन्यास भाइहरूले नछापे कसले छाप्ने त ?” भन्नुभएको थियोे !
नभन्दै मैले साँच्चिकै उपन्यास लेखि सकेँ पनि ! पुनः हाम्रो भेट उहीँ स्थानमा भएको बेलामा मैले फेरि भने- ” उपन्यास त साँच्चिकै लेखी सकेँ त भाइ !”
“ए हो दिदी ! अत्यन्तै खुसीको कुरा ! सञ्चारकर्मी एवम् समालोचक राजकुमार बानियाँजीले हेर्नु हुन्छ हाम्रो प्रायःजसो सबै पुस्तकहरू । त्यसैले दिदीले पाण्डुलिपि लिएर आउनु होस् र हामी सबै बसेर हेरौँला नि दिदी हुन्न !”
निकै राम्रो लोकप्रियता कमाइ सकेको प्रकाशन गृह बुक-हिलका भाइहरूले यसरी मेरो उपन्यास छापिदिन्छौं भन्नू नै मेरालागि अत्यन्तै खुसीको कुरा थियोे !
यसरी मैले मेरो उपन्यासको पाण्डुलिपि पवन आचार्य भाइ, भूपेन्द्र खड्का भाइ र राजकुमार बानियाँभाइ सँगसँगै भएको समयमा बुझाएको थिएँ !
भाइहरूले डमी कपी छापेर मलाई पुनः हेर्नका लागि दिनुभएको थियो ! पुन: हेरेर पुन: सोही स्थान याने कि पुल्चोक ३को स्टुडियोमा प्रकाशक भूपेन्द्र खड्का भाइलाई बुझाएँ आज मैले फेरि !
मेरो टाउको अलि हलुको भएको महसुस त गरेँ ! र, पनि परिक्षार्थीकै रूपमा न छु अझै । नतिजा पो कस्तो आउने होला भन्ने डर भने बाँकी नै छ है हजुर ?
अहिलेलाई बुक-हिल पब्लिकेसन प्रति आभारी रहेँ !