दुई आध्यात्मिक पुस्तकको लोकार्पण

दुई आध्यात्मिक पुस्तकको लोकार्पण

‘अमृत कण’ र ‘श्री शंकराचार्य उपदेशामृत’ नामका दुई आध्यात्मिक पुस्तकको शनिबार लोकार्पण गरिएको छ । राजधानीको जैन भवनमा आयोजित एक समारोहबीच ती पुस्तकलाई कार्यक्रमका प्रमुख अतिथि हरिहर आश्रम देवघाटका पीठाधीश ज्ञानानन्द सरस्वतीले विमोचन गरेका हुन् । दुवै पुस्तकमा हिन्दू धर्मको वैदिक ज्ञानबारे विस्तृत चर्चा गरिएको छ ।

नेपाल वैदिक महर्षि फाउन्डेसनको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा विभिन्न विशिष्ट विद्वान्हरूले पुस्तकमाथि चर्चा गरे । कार्यक्रममा नेपाल संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपतिद्वय माधवराज गौतम र आचार्य पूर्णचन्द्र ढुंगेल, प्रा. भवानी खतिवडा, प्रा.डा.भागवत् ढकाललगायतका विशिष्ट अतिथिहरूको उपस्थिति थियो ।

कार्यक्रमका वक्ताहरूले हिन्दू धर्ममाथि चौतर्फी आक्रमण भएको वर्तमान सन्दर्भमा यी पुस्तकहरूले अनर्गल भ्रम चिर्न मद्दत गर्नेमा विश्वास व्यक्त गरे । ‘अमृत कण’को अनुवाद भरतराज पौडेलले गरेका हुन् भने ‘श्री शंकराचार्य उपदेशामृत’लाई फाउन्डेसनका अध्यक्ष दीपकप्रकाश बाँस्कोटा स्वयंले गरेका हुन् ।