स्रष्टा लेखनाथ पोखरेलको कथासङ्ग्रह ‘मार्बल हाउसकी शालिनी’ पाठकमाझ

स्रष्टा लेखनाथ पोखरेलको कथासङ्ग्रह ‘मार्बल हाउसकी शालिनी’ पाठकमाझ

काठमाडौँ, ११ असोज।स्रष्टा लेखनाथ पोखरेलको कथासङ्ग्रह ‘मार्बल हाउसकी शालिनी’ पाठकमाझ आएको छ । केही समयअघि नियात्रासङ्ग्रह ‘फकलीको गाउँ’ पाठकमाझ ल्याउनुभएका पोखरेलको दोस्रो कृति ‘मार्बल हाउसकी शालिनी’ पाठकमाझ आएको हो ।

सावित्री पोखरेल प्रकाश रहनुभएको २४० पेजको यो कथासङ्ग्रहमा विभिन्न परिवेशका कथा समेटिएको छ । कृति भित्रै कै एक कथा ‘मार्बल हाउसकी शालिनी’लाई लिएर पुस्तकको नाम राखिएको छ ।पुस्तकमा ‘तृष्ण’, ‘ममता’, ‘विद्रोही’, ‘विकल्प’, ‘जन्मकुण्डली’, ‘प्रतिकार’, ‘मार्बल हाउसकी शालिनी’, ‘पुनर्मिलन’, ‘उज्ज्वला’, ‘अन्ततः’, ‘कक्टेल पार्टी’, ‘गृहलक्ष्मी’ र ‘कथा यस्तो पनि’ जस्ता कथाका पन्ध्र गुच्छा समेटिएका छन् । लेखकले आफ्नै गाउँघरका विविध परिवेश र विषयवस्तुलाई टपक्क टिपेर पन्ध्र गुच्छालाई मालामा उन्नु भएको छ ।
कृतिमा लेखकले समुद्रबाट मोती टिपेझैँ टिपेका समाजभित्रका विविध वस्तुलाई उनेर तयार पारेको साहित्यकार खेमनाथ दाहाल बताउनुहुन्छ । ‘समाजमा रहेका रिती र विकृतिको अत्यन्तै सरल भाषा र पठनीय शैलीमा कथाकारले समेटेका छन्’, दाहालले भन्नुभयो । कृतिमा स्रष्टाले प्रायशः सबै कथालाई नारी प्रधान कथाका रुपमा प्रस्तुत गर्नुभएको छ ।
‘आत्मकथा होस् कि नियात्रा ! चाहे त्यो आख्यान नै किन नहोस् । मानिसले अरुको कुरा कहाँ लेख्दछ र ? पात्र र स्थानविशेषको नामकरण जेसुकै गरिएको किन नहोस् घटना र विषयवस्तुको प्रस्तुति प्रायः आफूसम्बद्ध नै हुने गर्छन् । जे–जति लेखिन्छन्, ती आफ्नै मन–मस्तिष्कमा छरपस्ट भई तम्तयार बसेका, देखेका, सुनेका, जानेका र भोगेका घटना शब्दरुपी अलङ्कारको रङ्गले लिपपोत गरेर पस्किइने अव्यक्तमध्येका केही भाव र घटनाक्रम मात्र हुन्’, स्रष्टा पोखरेल भन्नुहुन्छ । आफ्नो पहिलो कृति नियात्रासङ्ग्रह ‘फकलीको गाउँ’ जस्तै यो कथा सङ्ग्रहले पनि पाठकको मन जित्नेमा आफू आशावादी भएको बताउँदै कमीकमजोरीलाई सुझाव र सल्लाह उपलब्ध गराइदिन उहाँले आग्रह गर्नुभयो ।

पत्रकार/लेखक कृष्ण भुसालले सम्पादन गरेको कृतिमा साहित्यकार खेमनाथ दाहालको भूमिका छ भने रमेश दाहालको आवरण र भाषाविन्यास रहेको छ । ईं.प्रेस, प्रा.लि. मुद्रक रहेको कृतिको मूल्य ४०० रुपैयाँ राखिएको छ ।स्रष्टा पोखरलेका विभिन्न पत्र पत्रिकामा नियमित वङ्ग्यात्क लेख, कथा र नियात्रा प्रकाशन हुँदै आएका छन् । उहाँको अर्को कृति प्रेत लेखक (हास्य निबन्ध) पनि पाठकमाझ आउने तयारीमा रहेको छ ।