‘यास चक्रवात’को प्रभावः अबको ३ दिन बाढी पहिरो र उच्च वर्षाको सम्भावना

‘यास चक्रवात’को प्रभावः अबको ३ दिन बाढी पहिरो र उच्च वर्षाको सम्भावना

काठमाडौं, १३ जेठ । पश्चिमी बङ्गालको खाडीमा विकसित जलवायु र ‘यास चक्रवात’ को प्रभाव नेपालमा पनि देखिएकाले आवश्यक सतर्कता अपनाउन सरकारले आग्रह गरेको छ ।

गृह मन्त्रालय मातहतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सूचना जारी गर्दै अबको ३ दिन बाढी पहिरो र उच्च वर्षाको सम्भावना रहेकोले बाढी पहिरोको सम्भावित जोखिम क्षेत्रका बस्तीलाई तत्काल सुरक्षित स्थानमा सार्न सरोकारवाला निकायसँग आग्रह गरेको छ ।

आजदेखि पर्सिसम्म कर्णाली र सुदूरपश्चिमबाहेक सबै प्रदेशमा उच्च वर्षा र बाढी पहिरोको जोखिम रहेकोले प्राधिकरणले हिमाल आरोहणमा गएका पर्वतारोहीलाई समेत तत्काल फिर्ता बोलाउन सरोकारलाला निकायलाई आग्रह गरेको छ ।

बाढीपहिरोको जोखिम रहेको तटीय क्षेत्र एवं सम्भावित जोखिम क्षेत्रको बस्तीलाई सुरक्षित स्थानमा सार्न भनिएको छ । कर्णाली र सुदूरपश्चिममा भने मध्यम वर्षाको आकलन गरिएको उल्लेख गर्दै प्राधिकरणले आसपासको ठाउँमा बाढी पहिरो डुबान, कटान आदि जोखिमयुक्त अवस्था देखिएमा विपद् व्यवस्थापन समिति वा सुरक्षा निकाय वा पालिकामा खबर गर्न आग्रह गरेको छ ।