ग्रामीण सडक : हिउँदभर धुलो, बर्खा लागेपछि हिलो

ग्रामीण सडक : हिउँदभर धुलो, बर्खा लागेपछि हिलो

– रवीन्द्र काफ्ले –

पाँचथर, ९ वैशाख । ग्रामीण बस्ती पुग्ने सवारीमा बर्खा लाग्ने बित्तिकै यात्रुको भीड हुन थाल्छ । खाद्यान्नलगायतका सामग्री गाउँ पु¥याउन भ्याइनभ्याइ हुन्छ । कतिपय गाउँका सर्वसाधारणले वैशाख जेठमै हिउँदसम्म पुग्ने खाद्यान्नलगायत आवश्यकीय जोहोसमेत गर्दछन् । किनकी बर्खा लागेपछि अधिकांश ग्रामीण सडकमा सवारी चल्दैनन् । हिउँदभरि धुलाम्य हुने भित्री सडक सामान्य वर्षा हुने बित्तिकै हिलोले भरिन्छन्् । पानी नपर्दा धुलोले हिँडिनसक्नु हुने सडक पानी पर्ने बित्तिकै हिलोले भरिँदा ग्रामीण क्षेत्रका सर्वसाधारणले सास्ती व्यहोर्दै आएका छन् ।

ग्रामीण बस्तीमा पुग्ने अधिकांश सडकको विशेषता नै हिउँदमा धुलो र बर्खामा हिलो भएको छ । स्थानीय तह निर्माणपछि बस्तीसम्म पुग्ने सडक निर्माणमा स्थानीय सरकारले यथेष्ट बजेट छुट्ट्याए । परिणामतः अहिले कुना कन्दराका बस्तीसम्म सडक पुगेको छ तर ट्र्याक विस्तारमा धेरै बजेट खर्च हुँदा स्थानीय तहभित्रका मुख्य सडकको स्तरोन्नति गर्ने बजेट अभाव हुने गरेको छ भने सीमित बजेटले सडकको स्तरोन्नति सम्भव भएको छैन । स्थानीय तहले प्रयास थाले पनि ग्रामीण सडक समस्याग्रस्त छन् ।

जिल्लाको तुम्बेवा गाउँपालिका–३ का वडाध्यक्ष कमल थापा ग्रामीण सडक हिउँदमा धुलाम्य हुने र बर्खामा हिलोले हिँडिनसक्ने अवस्था सबै क्षेत्रको समस्या भएको बताउनुहुन्छ । तुम्बेवा जस्ता विकट स्थानीय तहका जनताले विशेषतः बर्खामा धेरै समस्या भोग्नुपर्ने बाध्यता रहेको उहाँको भनाइ छ । “चार वर्षअघि हामी निर्वाचित भएर आउँदा जता पनि बाटो खन्नुपर्छ भन्ने माग आए”, थापाले भन्नुभयो, “जनताको मागअनुसार सडकको ट्र्याक विस्तारमा लाग्दा स्तरोन्नतिमा पर्याप्त बजेट विनियोजन गर्ने अवस्था रहेन ।” यद्यपि धेरै ट्र्याक खोलिसकिएकाले आगामी दिनमा सडकको स्तरोन्नतिमा लाग्ने अवसर रहेको वडाध्यक्ष थापा वताउनुहुन्छ । “मुख्य सडक सुधार हुँदै गएका छन् । तिनलाई कालोपत्रेको चरणमा अगाडि बढाएका छौँ”, थापाले भन्नुभयो, “अब प्राथमिकताका आधारमा ग्रामीण सडकको स्तरोन्नति गर्नुपर्छ ।”

हिलिहाङ गाउँपालिका–५ का वडासदस्य राजकुमार पन्थाक अधिकांश कच्ची सडकमा हिलो र धुलोको समस्या रहने गरेको बताउनुहुन्छ । सडकमा खाल्डाखुल्डी पर्ने, पानी जम्ने र हिलो हुने समस्या समाधान गर्न बर्खामा ट्र्याक्टर सञ्चालन रोक्ने नीति कार्यान्वयन गर्दा केही सहज भएको पन्थाकको धारणा छ । “यो समस्याको न्यूनीकरणका लागि प्रधानमन्त्री स्वरोजगार कार्यक्रमबाट कच्ची सडकमा ढुङ्गा सोलिङ गर्ने, नाली निर्माण गर्नेलगायत काम गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “अहिले निर्माण भइरहेका सबै सडकमा अनिवार्य नाली निर्माण गरेर सडकलाई बाह्रै महिना सञ्चालनयोग्य बनाउन प्रयास गरिरहेका छौँ ।”

गाउँसम्म पुग्ने अधिकांश सडकमा धुलो र हिलोको समस्या हुने गरेको छ । हिलोका कारण सडक चिप्लो भई बेलाबखत सवारी दुर्घटनासमेत हुने गरेको छ । यहाँ निर्माणाधीन मुख्य सडकसमेत कालोपत्रे नहुँदा मुख्य सडकमै धुलो र हिलोको समस्या हुने गरेको छ । पुष्पलाल (मध्यपहाडी) लोकमार्गको दारिम्बा–चिवाभञ्ज्याङ खण्ड विस्तारको क्रममा छ । एकाउन्न किलोमिटरको यो खण्ड कालोपत्रे नहुँदा सर्वसाधारणले धुलो र हिलोको समस्या व्यहोर्नु परिरहेको याङवरक गाउँपालिकाका उपाध्यक्ष कमलकुमारी योङहाङको भनाइ छ । अन्य मुख्य ग्रामीण सडकलाई बाह्रै महिना सञ्चालनयोग्य बनाउन ढुङ्गा सोलिङ गर्ने, नाली निर्माण गर्नेजस्ता कार्य भइरहेको उपाध्यक्ष योङहाङले वताउनुभयो ।

सुदूर बस्तीमा सडक पुगेकाले अब सडकको गुणस्तर सुधारमा लाग्नुपर्ने सर्वसाधारणको जोड छ । जिल्लाको फालेलुङ गाउँपालिका–६ तालखर्कका हुमबहादुर गुरुङले भन्नुभयो, “हाम्रो विकट गाउँसम्म राम्रो बाटो आएको छ तर अब बर्खामा पनि चल्नसक्ने बनाउन सरकारले सहयोग गर्नुप¥यो ।” वडाले प्राथमिकतामा राखी दुई दर्जन घर भएको तालखर्कसम्म बाटो विस्तार गरेकामा गुरुङ खुशी हुनुहुन्छ । “यति त सरकारले गरेकै हो, अब हामी पनि धुलो र हिलोबाट मुक्त हुन चाहन्छौँ”, उहाँले भन्नुभयो ।

जिल्लाको कुम्मायक गाउँपालिकाले ग्रामीण सडक संरक्षणको जिम्मा स्थानीयवासीलाई दिने नीति लिएको थियो । उक्त नीतिपछि सडकको अवस्थामा सुधार आए पनि समस्या पूर्णतः हल हुन भने सकेको छैन । सदरमुकाम फिदिमबाट कुम्मायकको यासोक, तुम्बेवाको मौवा, हिलिहाङको सुभाङ–पञ्चमी, फाल्गुनन्दको घुर्विसेपञ्चमी तथा मिक्लाजुङको रवी जोड्ने मुख्य सडक कालोपत्रेको चरणमा अगाडि बढिसके पनि अहिले धुलो र हिलोसँग जुध्नुपर्ने विवशता कामयै छ । यीबाहेक शाखा सडकको अवस्था उस्तै छ । राँके–रबी–भेडेटार सडक, तमोर कोरिडोरलगायत सडकको पनि ट्र्याक मात्रै विस्तार भएको छ । यसबाट सर्वसाधारण धुलो र हिलोको समस्या झेल्न बाध्य छन् ।

धुलो र हिलोले सर्वसाधारणले पाउने दुःखका कथा बेग्लै छन् । बस्तीसम्म सामान र मानिस दुवै बोक्न मिल्ने पिकअप चल्ने गर्दछन् । सवारी साधनको सीमितताले सर्वसाधारणसँग झुण्डिएर वा छतमा बसेर भए पनि यात्रा गरी गन्तव्य पुग्नुको विकल्प हुँदैन । सामान राख्ने ठाउँमा बसेर यात्रा गर्न पाउनु कतिपयका लागि खुशीको विषय हुन्छ तर सदरमुकाम आइपुग्दा यात्रु धुलो वा हिलोले पुरिएका भेटिन्छन् । प्राथमिकताका आधारमा ग्रामीण सडकको स्तरोन्नति गर्नुपर्ने सर्वसाधारणको माग छ । रासस