मूलढोका र घरमूली

  • 66
    Shares
मूलढोका र घरमूली

अशोक घिमिरे


मूलढोका र घरमूली
एकैएकै हुन्
ढोका उघारिए,सि
संगै घरबाहिरिन्छन् -दुवै

घाम पानी हावा हुण्डरीले
जता धकेलो उतै नाच्छ ढोका
एता चुॅई उता चुॅञी
वेदनाले चुॅईकी रहन्छ
खडाखडा डिउटिमा खटिएर

उता उस्तै उस्तै घरमूली,नि
काम र परिस्थिति, परिवेश र समस्याले
जता धकेल्छ उतै चक्कर काट्छ
पिसिन्छ जाॅतोमा दलिएर
आजीविकाको संघर्षले
दिनैभरी वेदना सुसेल्छ
सुॅई सुॅई लदिएर

साॅझ पख
संगै घर भित्रिन्छन्
ढोका अनि मालिक
ढोका धडप्प लाग्छ
त्यति बेलै एउटा काम गर्छ ढोका
सबै वेदना जति पीठ्यूॅ पारेर
केही भित्रिन दिदैन
बाहिरै फालिदिन्छ कहिलै पनि
आग्लो र चुक्कुलको भरमा
चानुमानु मस्त सुत्छ
निर्धक्क आरामले

यता घरमूली भने
बाहिरी कुरा सबै भित्र्याको हुन्छ
भिरने झोला संगै
वेदनाका कुण्ठा मुण्टो उचाल्छन्
ताण्डव नाच्छन् आफू वरीपरी
वेदना बोल्छ वेदना खान्छ
वेदना ओच्छाउछ वेदना ओढ्छ
प्रेसर कुक्कर झैं
खुई खुई सिट्ठी बजाउॅदै
वेदनामै पाकी पाकी सुत्छ

विहान सवेरै
डिउटी शुरू हुन्छ संगै दुवैको
कत्ति फरक छैन इ दुवैमा
एउटा -चुॅञी चुॅञी
एउटा – खुॅञी खुॅञी
मात्र यत्ति फरकछ —
विचरा ढोका निर्जीव भएर पनि ढुक्क सुखी छ
विचरा मालिक सजीव रहेर पनि आजीवन दुःखी छ

फरक यत्ति छ —
एकदिन -आफैले बनाएको
घरको मूलढोका हुॅदै- सदाकालागि
विदा हुन्छ मालिक
के गर्न सक्छन् ! निर्जीव घर र ढोका
स्तब्ध हेरिरहन्छन्- टुलु टुलु

युगौं देखि यस्तै चल्दै छ -मान्छेको कथा
घरमूली र मूलढोकामै सीमित छ ।

टाॅउजी –म्यान्मा