मूर्ति बोल्छन् {रहस्य -३}

मूर्ति बोल्छन् {रहस्य -३}

अशोक घिमिरे

मूर्तिहरू मानव सभ्यताका उपज हुन्
समाज संस्कृति संस्कारका अंगबनेर आए
साहित्यकला नृत्यकला स्थापत्य कला
काष्ठकला धातुकला मृत्कला चित्रकला
मूर्तिकै प्रतिरूपमा मूर्तरूप हुन्
राष्ट्रीय पहिचान र राष्ट्रिय गरीमाका सम्पदा हुन्
मूर्तरूपमा राष्ट्रियता बोल्छन्

मूर्तरूपमा
राष्ट्रिय प्रतीक झण्डा राष्ट्रका मानचित्रहरू
देशभक्ति राष्ट्रशक्ति बोल्छन्
राष्ट्रमा प्रतिष्ठापित सालिकहरू
नौलो क्रान्ति र शान्ति बोल्छन्
राष्ट्रगौरव र परिचय बोल्छन्
मानव सालिकले मानवता बोल्छन्
चित्रकला हरू मनोविज्ञान बोल्छन्
उदात्त प्रतिमा हरू भगवत्ता बोल्छन्

स्तूप चैत्य स्मारक हरू
अतीतका इतिहास हुन्
वर्तमानका विश्वास हुन्
भविष्यका मार्गनिर्देशक हुन्
अच्युत पथ प्रदर्शक हुन्
भेदविभेद रहित समान् दृष्टि हुन्
न्यायमूर्तिहरू
सन्सार लाई यही सन्देश बोलिरहन्छन्

मानवसमाजमा मूर्तिहरू
स्तुत्य बने पूजनीय बने
श्रद्धा बने आस्था बने
दुःख बिसाउने बिसौनी बने
पाप पखाल्ने तीर्थ बने
प्रार्थनाका धाम बने
समर्पणका गुरू बने
साधनाका दिव्य चेतना बने

मूर्तिहरू अतीत बाटनै बोल्दै आए
आगतमा पनि बोल्नेछन्
मूर्तिहरू मानवसमाजका सचेतक हुन्
मूर्तिहरू आफू बोल्दैनन्
मूर्तिहरू मौनरूपमा रहस्य बोलिरहन्छन्