आयो दशैं

आयो दशैं

(बालमनमा दशैंको हर्ष)

अशोक घिमिरे

ल है ! आयो बडादशैं रमाउँदै घुम्दै ।
लिङ्गेपिङ चङ्गा मेरो आकाशमा झुम्दै ।
साथीभाइ भेला भइ खोपी गुच्चा खेल्दा ।
रमाउँछ मेरो दशैं चर्खासंगै रिड्दै ।१।।

आयो दशैं शक्तिपीठमा दुर्गा पूजा लाग्छ ।
नवकन्या वटुकको लामताँती लाग्छ ।
सप्तमीको फूलपाती बज्छन् पन्चे बाजा ।
अष्टमीमा कालरात्री ठूलो मेला लाग्छ ।२।।

बर्षैपछि प्यारो दशैं खुसियाली भित्र्याउँछ ।
नयाँलुगा लाउनु पाउँदा जीउ फुर्फुराउँछ ।
शरदफुल्छ झकमक गाँउघर सिंगारेर ।
झ्याँउरे भाका सुन्दा मेरो जोवन जुर्मुराउँछ ।३।।

रातो अबीर दहीराखी अक्षता मुछेर ।
निदार भरी अक्षताले छपक्कै ढाकेर ।
कानमा राख्दा जमराले गाला मेरो चुम्दै ।
ल्यायो दशैं हर्षबढाँइ उमड्ग छरेर । ४।।

सेलरोटी गोलगोलो दहीचिउरा खाने हो ।
टिका लाउन हजुरबा र मामाघर जानेहो ।
बाउआमाको आशीष थापी खुसी प्रेम बाटौंला
हार्दिक शुभकामनामा बडादशैं मान्ने हो ।५।।