एक दर्जन हाइकु

  • 23
    Shares
एक दर्जन हाइकु

-टेकनारायण रिमाल “कौशिक”

१-
कोही आएझैँ
चरप् चरप् बज्दैछन्
पात-पत्कर।

२-
काँडा सन्तरी
फूल जोगाइदिने
औँला घोचेर।

३-
पुसका रात
हिउँजस्तो विरह
यौवन ठुङ्दो।

४-
छलीको छल
रात जलिरहेछ
चन्दरमामुनि।

५-
मीठा सपना
नजरभित्र कैद
कहिलेसम्म !

६-
सपनाहरू
सपनामै थुनिँदा
विपना टाढा।

७-
प्रेमीले रोप्छन्
दिलको बगैँचामा
प्रीतिको फूल।

८-
माया निर्माया
बैँसालु अभिलाषा
तासको घर।

९-
काउसोभित्र
यौवन रसायन
सृष्टि-सङ्कल्प।

१०-
दर्शन उल्ट्यो
जन्म अनि मृत्यु
उल्ट्याइहेर्दा।

११-
कालो साडीमा
चन्द्रहार झल्केकी
रजनी रानी।

१२-
वसन्त बहार
सपनाभरि गीत
शुष्क विपना।

याङ्गौँ, म्यान्मा(बर्मा)