मेरो साथी मेरा बाबाआमा

मेरो साथी मेरा बाबाआमा

परिष्कृत श्रेष्ठ

सन्देश कक्षा एकमा पढ्थ्यो । उसलाई पढ्नभन्दा पनि खेल्न धेरै रमाइलो लाग्थ्यो । यसैले उसका बाबाआमाले उसलाई खेलेर मात्र हुँदैन पढ्नु पनि पर्छ भन्दै सम्झाउनु हुन्थ्यो । ऊ बाबाआमाको कुरा सुनेको नसुनेझैं गरेर खेलिरहन्थ्यो ।

उसको यस्तो बानीले दिक्क मान्दै उसको बाबाले बेलाबेलामा गाली गर्नुहुन्थ्यो । त्यसैले उसलाई बाबाआमा भनेका दुस्मन हुन् । यीनीहरुले मेरा कुरा नै बुझ्दैनन् भन्ने प¥यो । हुँदा हुँदा त ऊ बाबाआमासँग बोल्दा पनि नबोल्ने । बाबाआमादेखि पर पर भाग्ने गर्न थाल्यो । बाबाआमाले केही कुरा भने झर्कोफर्को गर्न थाल्यो ।

उसको त्यस्तो बानी देखेर बाबाआमा साह्रै चिन्तित हुनुभयो । उहाँहरुले आफ्नी आमा अर्थात् सन्देशका हजुरआमालाई भन्नुभयो, ‘बाबु साह्रै नै रिसाहा । अहंकारी भयो कसरी सुधार्ने होला ।’
बाबाआमाको कुरा सुनेर संन्देशको हजुरआमा मुसुक्क हाँसेर सन्देशको बाबु सानोछँदाको घटना सुनाउँदै भन्नुभयो, ‘तँ पनि सानो छँदा तेरो छोराजस्तै थिइस् ।’

हजुरआमाको कुरा सुनेर बाबाआमा दुवै हाँस्नुभयो । एकदिन बाबाआमाले घरको छतमा पाकेका राता खुसार्नी सुकाउनु भएको थियो । बाबाआमा तल करेसाबारीमा कामगर्दै हुनुहुन्थ्यो ।

संन्देश खेल्न माथि छतमा गयो । त्यती धेरै राता राता खुसार्नी देखेर संन्देश दंग पर्‍यो र खुसार्नीसँग खेल्न थाल्यो । यसरी खेल्दा उसकी आमाले माथि खुसार्नी नचलाउहै पिरो हुन्छ भनेको पनि बिर्सियो । खेल्दा खेल्दै उसको हातले आँखा छुन पुग्याे ।

खुसार्नी छोएको हातले आँखा पोलेर आँखा खोल्नै नसक्ने भयो । ऊ बिस्तारै तल ओर्लिएर आफ्नो कोठामा आयो र बिस्तारामा पल्टियो तर आँखा पोल्न कम भएन ।

उसले आँखा माडिरह्यो तर आँखा झन् झन् पोल्न थाल्यो । जब उसले सहन सकेन । ऊ बेस्करी चिच्याएर रुन थाल्यो । ऊ रोएको सुनेर बाबाआमा दगुरेर ऊ भएको ठाउँमा आउनु भयो ।
ऊ रोइरहेको थियो । बाबाआमाले धेरैबेर के भयो भनेर सोध्नुभयो तर उसले केही बताएन । आमाले बिचार गर्नुभयो । पक्कै यसले खुसार्नी चलायो होला त्यही हातले आँखा छोयो होला त्यसैले पिरो भएको हो । यती सोचेपछि आमाले एउटा चम्चामा गाईको घिउ ल्याउनुभयो र आँखा वरपर लगाई पानीले पखाली दिनुभयो ।

केहीसमय त्यसो गरेपछि आँखा पोल्न केही कम भयो । बल्ल उसले बुझ्यो । बाबाआमा उसका दुस्मन होइन रहेछन् । उसका साथी पो रहेछन् । त्यसपछि संन्देश ज्ञानी भयो । सबैकुरा बाबाआमालाई भन्ने र बाबाआमाको कुरा मान्ने हुन थाल्यो ।

(लेखक कक्षाः ६ मा अध्ययनरत हुनुहुन्छ ।)