नगर प्रमुखलाई सङ्क्रमण पुष्टि भएपछि बर्दघाट नगरपालिकाको सेवा बन्द

नगर प्रमुखलाई सङ्क्रमण पुष्टि भएपछि बर्दघाट नगरपालिकाको सेवा बन्द

परासी, २८असोज।नगर प्रमुखलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि नवलपरासी(बर्दघाट सुस्तापश्चिम) स्थित बर्दघाट नगरपालिकाका सेवा बन्द गरिएको छ । सोमबार स्वाब परीक्षण गर्दा नगर प्रमुख धीरज शर्मा बस्याललाई कोरोना पुष्टि भएपछि नगरपालिकाका अत्यावश्यकबाहेकका सेवा तत्कालका लागि बन्द गरिएको हो ।

नगर प्रमुखसँग प्रत्यक्ष सम्पर्कमा रहनुभएका कर्मचारी तथा जनप्रतिनिधिको पिसिआर परीक्षण गर्नुपर्ने भएकाले परीक्षण नतिजा नआउँदासम्म नगरपालिकाका सेवा बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत मेघनाथ पाध्याले बताउनुभयो ।वडा नं ४ को वडा कार्यालयबाहेक नगरपालिका मातहतका अन्य वडा कार्यालय, स्वास्थ्य सेवालगायत भने यथावतै रहने नगरपालिकाले जनाएको छ । कोभिड नियन्त्रण र नागरिकको सेवामा निरन्तर खटिरहेका अवस्थामा नगर प्रमुख बस्याललाई कोरोना सङ्क्रमण पुष्टि भएकामा नगरपालिकाले स्वास्थ्यलाभको कामना गरेको छ । कोरोना पुष्टि भएपछि प्रमुख बस्याल होम आइसोलेशनमा रहनुभएको तथा स्वास्थ्यवस्था सामान्य रहेको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले कोभिड –१९ को महामारीबीच सञ्चालनमा आएका विद्यालय तत्काल बन्द गर्न निर्देशन दिएको छ । कोरोना सङ्क्रमण दर बढ्दै जाँदा विद्यालयमा आएका विद्यार्थीलाई जोगाउन गाह्रो हुने भएकाले आजदेखि नै विद्यालयमा भौतिक उपस्थितिमा गरिएको पठनपाठन बन्द गर्न निर्देशन दिइएको हो । विद्यालयमा गरिने सिकाइ सहजीकरण बन्द गरी वैकल्पिक विधिबाट सिकाइ सञ्चालन गर्न आग्रह गरिएको नगर शिक्षा अधिकारी इन्द्रबहादुर कँुंवरले बताउनुभयो । कक्षा ११ का हकमा भने यो आदेश लागू हुने छैन ।

सुनवल नगरपालिकाले पनि असोज २६ गतेदेखि सिकाइ केन्द्र तथा विद्यालयमा भइरहेको पठनपाठनमा रोक लगाइसकेको नगर उपप्रमुख दधिराम अर्यालले बताउनुभयो । सरावल गाउँपालिकाले पनि महामारीलाई ध्यानमा राखी सबै विद्यालय बन्द गराउन लागेको प्रमुख प्रशासकीय अधिकृत बुद्धप्रकाश पौडेलले बताउनुभयो । यससँगै केही समयदेखि सञ्चालनमा आएका विद्यालय फेरि बन्द हुने भएका छन् ।