साहित्यिक वेब पत्रिका “द गोर्खा टाइम्स” को सुरुवात

साहित्यिक वेब पत्रिका “द गोर्खा टाइम्स” को सुरुवात

न्यु क्यारोलाइना । नेपाली श्रष्टाहरूद्वारा अङ्ग्रेजीमा लेखिएका अथवा अनुवाद गरिएका रचनामा आधारित विशुद्ध साहित्यिक वेब पत्रिका “द गोर्खा टाइम्स” को विविधत सुरुवात गरिएको छ । मङ्गलबार साँझ अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुनकुमार कार्कीले एउटा भच्र्युअल कार्यक्रममा उक्त पत्रिकाको युआरएल क्लिक गरेरउद्घाटन गर्नुभएको हो ।

पत्रिकाले सिर्जनाका अतिरिक्त समालोचाना, विचार, बालसाहित्य, श्रष्टा र कलाकार विशेष, साहित्यिक समाचार तथा अन्तरवार्ता प्रकाशित गर्ने पत्रिकाकी परिकल्पनाकार तथा सल्लाहकार नीलम कार्की निहारिकाले बताइन् । उनले भनिन्, “यी विविध शीर्षकले पोर्टललाई पूर्णता दिन्छ । यसले हामीलाई घरको साहित्य बाहिर चिनाउन मदत गर्छू, कार्कीले थप्नुभयो ।”

नेपाल, भारत, अमेरिका, अष्ट्रेलिया, जापान, र रसिया जस्ता भिन्न–भिन्न राष्ट्रहरूबाट धेरै साहित्यिक व्यक्तित्वहरूको उक्त कार्यक्रममा आफ्नो उपस्थिति थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत कार्कीले भन्नुभयो, “नेपाली लेखकहरूबाट अङ्ग्रेजी भाषामा थुप्रै उच्चस्तरीय साहित्य सिर्जना भएका छ, तर त्यसलाई विश्वमञ्चमा पु¥याउने उचित व्यवस्थाको खाँचो छ ।” यस पत्रिकाले उक्त व्यवस्थाको कार्य गर्ने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो ।

कार्यक्रममा बोल्दै पत्रिकाका प्रधान सम्पादक महेश पौड्यालले नेपाली साहित्यलाई देखिने न सुनिने बनाउनका लागि आवश्यक पूर्वाधारको अभाव देखिएकोले उक्त अभावको परिपूर्तिका लागि यस पत्रिकाको सुरुवात गरिएको बताए । उनले भने, “हामीसँग हिमालका कन्दरादेखि विश्वभरि फैलिएका नेपालीहरूका मनका, भन्न बाँकी कथा अनेक छन् । अब हामी ती कथा भन्छौँ ।”

पत्रिकाका सल्लाहकार डा. गोविन्दराज भट्टराई तथा मनप्रसाद सुब्बाले यस पत्रिकाले विश्व साहित्य र नेपाली साहित्यबीच विद्यमान एउटा खाडल पुर्न सक्ने विश्वास व्यक्त गरे भने, अर्की सल्लाहकार बार्बरा अजिज निम्रीले छरिएका नेपालीका भावना एकै ठाउँ ल्याउने बताइन् ।

सम्पादक हिमांशुले आफूजस्तै दोस्रो पुस्ताका आप्रवासी नेपालीलाई घरदेशसँग जोडन् यो पत्रिका सहयोगी हुने विश्वास व्यक्त गरे । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, बोर्ड अफ ट्रस्टिजका अध्यक्ष गीता खत्रीले संस्थाको तर्फबाट शुभकामना दिँदै पूर्ण सहयोगको प्रतिबद्धता व्यक्त गरिन् । कार्यक्रममा पत्रिकाका सल्लाहकार डा. राम्जी तिमल्सिनाले धन्यवाद मन्तव्य प्रस्तुत गरेका थिए ।