‘मदन पुरस्कार–२०७६’ का लागि सात पुस्तकको ‘सर्टलिष्ट’ सार्वजनिक

‘मदन पुरस्कार–२०७६’ का लागि सात पुस्तकको ‘सर्टलिष्ट’ सार्वजनिक

काठमाडौँ,२२ साउन । मदन पुरस्कार गुठीले ‘मदन पुरस्कार–२०७६’ का लागि सात पुस्तकको ‘सर्टलिष्ट’ सार्वजनिक गरेको छ ।

गुठीद्रारा भर्खरै जारी यो सूचीमा विमल निभाको जोकरको बन्दुक (कविता सङ्ग्रह), तीर्थ श्रेष्ठको धर्सैधर्साको चक्रव्यूह (कविता सङ्ग्रह), भुवन ढुंगानाको परित्यक्ता (उपन्यास), योगी धर्ममहारसको महारसनिघण्टु (खण्ड १–३), चन्द्रप्रकाश बानियाँको महारानी (उपन्यास), ललित बिष्टको मोहपथ (कथा सङ्ग्रह) र शारदा शर्माको यात्रामा (कविता सङ्ग्रह) रहेका छन् ।

यसमा साहित्यका छ वटा कृति परेका छन्, जसमा तीनवटा कविता सङ्ग्रह, दुईवटा उपन्यास र र एउटा कथा सङ्ग्रह छन् । छनौटमा परेका स्रष्टामध्ये भुवन ढुंगाना स्थापित साहित्यकार भए पनि औपन्यासिक लेखनमा परित्यक्ता उनको पहिलो उपन्यास हो भने युवा साहित्यकार ललित विष्टको मोहपथ पनि उनको पहिलो कथाकृति हो ।

गुठीका अध्यक्ष कुन्द दीक्षितद्वारा जारी विज्ञप्तिका अनुसार पुरस्कारका निम्ति गुठीलाई गत वर्ष प्रकाशित कूल १५१ पुस्तकहरू प्राप्त भएका थिए । प्राप्त पुस्तकहरू मध्येबाट बढीमा १० पुस्तकहरूको श्रेष्ठ सूची तयार गर्न गठन भएको समितिले सात पुस्तकको सूची गुठीलाई उपलब्ध गराएको हो ।

छनोटमा परेका यी पुस्तकहरू मध्ये एक पुस्तकलाई वर्ष २०७६ को मदन पुरस्कार प्रदान गरिने छ । पुरस्कारको रकम चार लाख रुपैयाँ रहेको छ ।