मकैमा देखिएको फौजी किराको प्रकोपले कृषक चिन्तित

  • 27
    Shares
मकैमा देखिएको फौजी किराको प्रकोपले कृषक चिन्तित

स्याङ्जा, २१ जेठ । स्याङ्जाको गल्याङ नगरपालिका भित्रका कृषकका मकैमा देखिएको फौजी किराको प्रकोपले कृषकलाई चिन्तित बनाएको छ । गतवर्षदेखि देखा परेको यो प्रकोप अधिकांश कृषकको मकै खेतिमा देखापरेको छ । पुतलीको माध्यमबाट सजिलै सर्नसक्ने यो रोगको प्रकोप बढेसंगै यहाँका कृषक बिषादि छर्नमा ब्यस्त भएका छन् ।

यति धेरै दुख गरेर लगाएको खेतीनै किराले नष्टगर्न थालेपछि बिषादी छर्न थालेको गल्याङ नगरपालिका तीनका माधव भण्डारीले बताउनुभयो । बिषादीको अभाव हुँदा पुरै मकैमा छर्न नपाएको उहाँको गुनासो थियो । त्यसै उक्त वडाकै अर्का कृषक श्यामसुन्दर बस्यालले पनि यस्तै प्रकोप फैलिदै गए खेती घर भित्र्याउन नपाउने भन्दै मकैमा बिषादी छरेको बताउनुभयो । करिब आठ रोपनी जग्गामा भएको मकै खेतिमा सबैमा देखिएको हुँदा बाध्यभएर यस्तो गर्नुपरेको उहाँको भनाइ थियो । बिषादी छर्केको दुई दिनसम्म पनि रोग निवारण नहुदा चिन्ता बढेको अर्का कृषक विष्णु बस्यालको भनाइ छ ।

उक्त किराले पहिलो चरणमा पात खाने र दोस्रो चरणमा गुभो खाएर मकै नष्ट पार्ने भएको हुँदा बेलैमा सजक हुन कृषकलाई गल्याङ नगरपालिका कृषि शाखाका प्रमुख शिब ढकालको सुझाव छ ।