विपन्न र बेरोजगारलाई मासिक ५ हजार दिने गरी तुरुन्त कार्यक्रम ल्याउन पूर्वअर्थमन्त्री कार्कीको प्रस्ताव (पूर्ण पाठ)

विपन्न र बेरोजगारलाई मासिक ५ हजार दिने गरी तुरुन्त कार्यक्रम ल्याउन पूर्वअर्थमन्त्री कार्कीको प्रस्ताव (पूर्ण पाठ)

काठमाडौं, ५ जेठ । नेपाली कांग्रेसका नेता एवं पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले लकडाउनका कारण रोजगारी गुमाएका, दैनिक ज्यालादारीमा काम गर्ने र विपन्न वर्गलाई तत्काल आर्थिक प्याकेज उपलब्ध गराउन सरकारसँग प्रस्ताव गरेका छन् ।

सोमबार प्रतिनिधि सभामा नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागि हुँदै पूर्वअर्थमन्त्री कार्कीले लकडाउनका कारण नागरिकहरु भोकै बस्नुपर्ने अवस्था सिर्जना भएको उल्लेख गर्दै तत्काल आर्थिक प्याकेज उपलब्ध गराउन माग गरेका हुन् ।

‘रोजगारी गुमाएका श्रमजीवी, वेरोजगार र विपन्न वर्गलाई महिनाको ५ हजारका दरले तीन महिनाका लागि १५ हजार रुपैयाँ दिन प्रस्ताव गर्दछु,’ उनले भने, ‘यसले उनीहरुको दैनिक जनजीवीकालाई सहज बनाउन सहयोग पुग्छ ।‘

पूर्वमन्त्री कार्कीले नीति तथा कार्यक्रमले अहिलेको समस्यालाई समाधान गर्न नसक्ने ठोकुवा गरे । ‘सरकारले जुन नीति तथा कार्यक्रम ल्याएको छ, यसले अहिलेको समस्याको समाधान गर्न सक्दैन । अहिलेको प्राथमिकता मानवसंकट, स्वास्थ्यउपचार,राहत र अर्थतन्त्रको पुनर्वहालीमा केन्द्रीत हुनुपर्छ,’ उनले थपे, ‘तर यीकुरालाई नजरअन्दाज गरेर नीति तथा कार्यक्रम ल्याइएको छ, यसले थप विकराल अवस्था सिर्जना गर्न सक्छ । यस्तो अवस्था नआओस् भन्नेतर्फ म ध्यानाकर्षण गराउन चाहन्छु ।’

उनले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भएको उल्लेख गर्दै उनले यसको दीर्घकालीन समाधान खोज्न सरकारसँग आग्रह गरे । उनले तत्काल सस्तो लोकप्रीयतामाम मात्र सीमित नहुनसमेत सरकारलाई सचेत गराए ।

संसदमा पूर्वअर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीको धारणा

सम्मानीय सभामुख महोदय,
नेपाल सरकारको नीति तथा कार्यक्रममा नेपाली कांग्रेसका संसदीय दलका नेता माननीय शेरबहादुर देउवाले राखेका धारणाको समर्थन गर्दछु र मेरा केही धारणा राख्दछु ।

मुलुक अहिले कोभिड १९ बाट गुज्रिरहेको छ । पीसीआर टेष्टको परीक्षण बढाउने वित्तिकै कोरोना संक्रमितको संख्या बृद्धि भएको छ भने दुई जनाको ज्यान गइसकेकोछ । सुरक्षाकर्मी र स्वास्थ्यकर्मीमासमेत कोरोना संक्रमण देखिएको छ ।

यस्तो असमान्य परिस्थितिमा ६३ पेजको २७६ बुँदाको सामान्य नीति तथा कार्यक्रम ल्याएको छ । भारतको प्रख्यात साहित्यकार सर्वेश्वर दयालको कविताको याद आएको छ । त्यसलाई नेपालीमा भावानुवाद गरेको छु । कविताका केही हरफहरु यहाँ राख्न चाहन्छु ।

यो दुनियाँमा मावनको जीवनभन्दा ठूलो केही छैन ।
न इश्वर, न ज्ञान न चुनाव
यदि तिम्रो घरको एउटा कोठामा आगलागी भयो भने
तिमी दोस्रो कोठामा सुत्न सक्छौं ?
यदि तिम्रो घरको एउटा कोठामा लासहरु सडिरहेका छन्, भने
तिमी दोस्रो कोठामा प्रार्थना गर्न सक्छौं ?
के तिमी यी कुराहरु सुन्नसक्छौं, सुन्न सक्दैनौं भने मैले भन्नुकेही छैन

यस्तै अवस्थामा अहिलेको सरकारले जुन नीति तथा कार्यक्रम ल्याएको छ, यसले अहिलेको समस्याको समाधान गर्न सक्दैन । अहिलेको प्राथमिकता मानवसंकट, स्वास्थ्यउपचार, राहत र अर्थतन्त्रको पुनर्वहालीमा केन्द्रीत हुनुपर्छ । तर यी कुरालाई नजरअन्दाज गरेर नीति तथा कार्यक्रम ल्याइएको छ, यसले थप विकराल अवस्था सिर्जना गर्न सक्छ । यस्तो अवस्था नआओस् भन्नेतर्फ म ध्यानाकर्षण गराउन चाहन्छु ।

यथार्तलाई आत्मसात गरेर कार्यान्वयनमुखी बजेट ल्याउन आग्रह गर्दछु । मुलुकलाई रोग र भोकबाट जोगाउने गरी बजेट ल्याउनुपर्छ ।

रोजगारी गुमाएका श्रमजीवी, वेरोजगार र विपन्न वर्गलाई महिनाको ५ हजारका दरले तीन महिनाका लािग १५ हजार रुपैयाँ दिन प्रस्ताव गर्दछु । यसले उनीहरुको जनजीवीकालाई सहज बनाउन सहयोग पुग्छ ।

लिम्पियाधुरा, लिपेलुक र कालापानी नेपाली भूमी हो । यो सधैं नेपालकै रहनुपर्छ । तर यो विषय सस्तो लोकप्रीयतामा मात्र सीमित बनाइनुहुँदैन ।

एमसीसीलाई सत्तारुढ दलभित्रको विवादको विषय बनाइनुहुँदैन । एमसीसी चाँडै सदनमा पेश हुनेछ र घनिभूत छलफल हुनेछ ।

अन्तमा यो सरकारले नेपाली जनतालाई रोग र भोकबाट जोगाओस्। सरकारले मूलरुपमा बजेट यसैमा केन्द्रीत गरोस् भन्ने आग्रह गर्दछु ।