काठमाडौं, २७ वैशाख । कोरोना संक्रमणको जोखिमबाट बच्न सरकारले गरेको लकडाउनकैबीच भारतले दार्चुलाको लिपुलेक हुँदै मानसरोवर जोड्ने बाटो बनाएको विरोधमा युवा बिद्यार्थीहरु विराेध प्रदर्शनमा उत्रिएका छन् । प्रदर्शनमा उत्रिएका युवा बिद्यार्थीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
माइतीघर मण्डलामा भारतले नेपाली भूमिमा बाटो बनाएको तथा नेपाल सरकार मौन रहेको विरोधमा प्रदर्शन गरेका हुन् । माइतीघर पुगेका युवाहरुको समूहले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेको छ । युवाहरुको समूहले ‘ओली सरकार राजीनामा दे, हाम्रो भूमि प्राणभन्दा प्यारो छ, भारतीय विस्तारवाद मुर्दावाद, लिपुलेक हाम्रै हो’ लगायतका नारा लगाएको थियो ।
१३ जना प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरी भ्यानमा हालेर लगेको थियो । भारतले नेपाली भूमि कालापानी, लिपुलेक हुँदै चीनको तिब्बतस्थित धार्मिकस्थल मानसरोवर जाने सडकमार्ग शुक्रबारबाट सञ्चालनमा ल्याएको हो ।
नेपाली पक्षसँग कुनै सल्लाह नगरी एकतर्फी रूपमा निर्माण गरिएको उक्त सडक शुक्रबार भारतका रक्षामन्त्री राजनाथ सिंहले दिल्लीबाट भिडियो कन्फरेन्समार्फत उद्घाटन गरेका थिए ।
यसैबीच नेपालीस्थित भारतीय दूतावास घेराउ गर्न गएका बिद्यार्थीहरुलाई पनि प्रहरीले पक्राउ गरेको छ । अनेरास्ववियुको नेतृत्वमा प्रदर्शन र घेराउ गर्न गएका २० भन्दा बढि बिद्यार्थीहरुलाई भूगर्भ विभाग नजिकैबाट प्रहरीले पक्राउ गरेको हो । भारतले नेपाली भूमि अतिक्रमण गर्दै तिब्बतमा रहेको कैलाश मानसरोवर यात्राका लागि नयाँ बाटो खोलेको हो ।
भारतीय रक्षामन्त्री राजनाथ सिंहले शुक्रबार भिडियो कन्फ्रेन्समार्फत धार्चुला लिपुलेक लिङ्क रोड उद्घाटन गरेका थिए । भारतको उत्तराखण्डस्थित धार्चुला क्षेत्रको पिथौरागढबाट नेपालको दार्चुलाको गुन्जी क्षेत्रबाट लिपुलेक पुग्ने सडक मार्ग भारतले खोलेको हो ।