लकडाउनको ४६ औं दिन काठमाडौंमा बढ्यो सवारीको चाप (हेर्नुहोस् फाेटाे/ भिडियो)

लकडाउनको ४६ औं दिन काठमाडौंमा बढ्यो सवारीको चाप (हेर्नुहोस् फाेटाे/ भिडियो)

काठमाडौं, २६ वैशाख । विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरस(कोभिड–१९)को संक्रमण फैलन नदिन नेपाल सरकारले लागू गरेको लकडाउन ४६ औ दिनमा पुगेको छ । आजदेखि सरकारले जारी गरेको छैठौं चरणको लकडाउन शुरु भएको छ ।

सरकारले नेपालमा कोरोना संक्रमण नियन्त्रणका लागि भन्दै पहिलोपटक चैत ११ गते बिहान ६ बजेदेखि चैत १८ बिहान ६ बजेसम्म लकडाउन घोषणा गरेको थियो ।

यस्तै दोस्रो चरणमा लकडाउनको अवधि थप गर्दै चैत २५ सम्म बढाइएको थियो । यस्तै सरकारले तेस्रो चरणमा चैत्र २६ देखि वैशाख ३ मध्यरातसम्म, चौथो चरणमा वैशाख १५ मध्यरातसम्म र पाँचौं चरणमा वैशाख २५ मध्यरातसम्म लकडाउनको अवधि लम्ब्याउँदै गएको थियो ।

यसैक्रममा सरकारले बुधबार छैटौंपटक जेठ ५ मध्यरातसम्मका लागि लकडाउनको अवधि थप गरेको छ । सहरका भित्री सडकमा भने केही तरकारी एवं खाद्य पसलहरू खुलेका छन् । मन्त्रिपरिषद् बैठकले लक डाउन जेठ ५ गतेसम्म जारी राख्ने निर्णय गर्दै सर्तसहित केही खुकुलो बनाएको हो ।

सर्तसहित औषधिजन्य वस्तुको उत्पादन, विक्रि वितरण, दैनिक उपभोग्य वस्तुको उत्पादन र विक्रि वितरण, निर्माणजन्य सामग्रीको ढुवानी, बैंकिङ सेवा सञ्चालन, कृषिजन्य वस्तु उत्पादन र विक्रीवितरण गर्न पाउने निर्णय गरेको छ । सम्बन्धित स्थानीय तहमा गठन भएको समितिबाट अनुमति लिएर कृषि तथा पशुपक्षी सम्बन्धि, खाद्यवस्तु र अन्य बाली लगाउने भित्राउने काम गर्न पाउने निर्णय गरेको छ ।

यसैगरी फलफुल र दुग्धजन्य वस्तुको उत्पादन र विक्रि वितरण गर्न पाउने, स्वास्थ्य सेवाका क्षेत्रहरु, भेटेनरी सञ्चालन, र पाठ्यपुस्तक विक्रि वितरण गर्ने पसल तथा ढुवानी गर्ने सवारीहरु जनक शिक्षा सामग्रीबाट अनुमति लिएर गर्न पाउने निर्णय सरकारले गरेको हो ।

उद्योग प्रतिष्ठान, विकास निर्माणका लागि आवश्यक सामग्री ढुवानी गर्न पाउने निर्णय पनि सरकारले गरेको छ । यस्तै राष्ट्रिय गौरबका आयोजनाहरु सञ्चालन गर्ने, जलविद्युत, खानेपानी, विमानस्थल निर्माणका काम सुचारु गर्न दिने निर्णय पनि सरकारले गरेको छ । लकडाउन खुकुलो भएपछि सडकमा सवारी साधनको संख्या पनि बढेको छ ।

भिडियाे हेर्नुहाेस्