‘भूगोल साहित्य समाज’को पाँचौ काव्य श्रृङ्खला सम्पन्न

‘भूगोल साहित्य समाज’को पाँचौ काव्य श्रृङ्खला सम्पन्न

काठमाडौं, १८ वैशाख । राष्ट्रिय वाणिज्य बैकबाट सेवा निवृत्त भएका कर्मचारीको सक्रियतामा गठित ‘भूगोल साहित्य समाज’द्वारा आयोजित कवितायात्राको पांचौ काव्य श्रृङ्खला वैशाख १८ गते सम्पन्न भएको छ । बन्दाबन्दीको कारण दूर प्रविधि मार्फत ‘भर्चुअल’ रुपमा सम्पन्न सो श्रृंखला अन्तर्गत आठ जना कविहरुले आआफ्ना रचना वाचन गरे ।

समाजका अध्यक्ष विनोद नेपालको अध्यक्षतामा सम्पन्न उक्त कवि गोष्ठीको प्रारम्भमा कोरोना महामारीको कारण जीवन गुमाएका सम्पूर्ण मृतकप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरिएको थियो भने संक्रमितको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै कोरोना संत्राशबाट शीघ्रातिशीघ्र मुक्तिको कामना पनि गरिएको थियो ।

उक्त काव्य गोष्ठीमा कविहरु विनोद नेपाल, दिनेशविक्रम थापा, नवराज पुडासैनी, शैलेन्द्र कुमार शाह, हरिश्चन्द्र गौतम, वुध्दिराज पाण्डे, उमेश तिम्सिना र मुकुन्द अर्यालले कविता तथा मुक्तक वाचन गरेका थिए ।

उक्त कार्यक्रममा प्रस्तुत रचनाहरुमा कोरोना कहर र यसले मानवजातीमा पारेको प्रभाव, कोरोना कहरबीच देशले भोगिरहेको राजनैतिक वेथिति तथा ‘साईबर क्राइम’का नाममा राज्यसंयन्त्रद्वारा खुम्च्याईदै गरिएको अभिव्यक्ति स्वतन्त्रता विरुध्द शालीन आवाज मुखरित भएका थिए । समाजले २०७६ श्रावण महिना देखि साहित्यिक गोष्ठी आयोजना गर्दै आएको छ ।