वायुसेवा निगमको कार्यकारी अध्यक्षमा घिमिरे नियुक्त

वायुसेवा निगमको कार्यकारी अध्यक्षमा घिमिरे नियुक्त

काठमाडौं, ३ वैशाख । सरकारले नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्षमा पूर्वपर्यटन सचिव सुशील घिमिरेलाई नियुक्त गरेको छ । यसअघि उनी निगम सुधारका लागि बनेको कार्यदलका अध्यक्ष थिए ।

मंगलबार मन्त्रिपरिषद् बैठकले पूर्वपर्यटन सचिव घिमिरेलाई चार वर्षका लागि निगमको कार्यकारी अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो । उनलाई अर्को व्यवस्था नहुँदासम्म कार्यकारी अधिकृतसहित कार्यकारी अध्यक्ष नियुक्त गरिएको छ ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीको जोडबलमा नियम मिचेर झापाका मदन खरेललाई कार्यकारी अध्यक्ष बनाइएको थियो । खरेललाई कार्यकारी अध्यक्ष नियुक्त गरिएकोमा विवाद भएको थियो ।

पर्यटन सचिव नै वायुसेवा निगम सञ्चालक समितिको अध्यक्ष रहने व्यवस्थालाई हटाएर खरेललाई महाप्रबन्धक सुगतरत्न कंशाकारभन्दा एक तह माथि रहने गरी कार्यकारी अध्यक्ष बनाइएको थियो ।कंशाकारले गत माघमा राजीनामा दिएपछि रिक्त पदमा घिमिरे नियुक्त भएका हुन् ।