सामाजिक सञ्जालमार्फत सचेतना जगाउँदै काङग्रेस नेता

सामाजिक सञ्जालमार्फत सचेतना जगाउँदै काङग्रेस नेता

–भीष्मराज ओझा-

काठमाडौँ, २८ चैत । कोभिड–१९को सम्भावित जोखिम हुन नदिन यही चैत ११ गतेदेखि मुलुकभर ‘लकडाउन’ जारी रहेको छ । यसले गर्दा अत्यावश्यक सेवाबाहेकका अन्य सेवा, यातायात र हिँडडुलमा कडाइ गरिएको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका अधिकांश नेता सामाजिक सञ्जाल तथा विभिन्न सूचना प्रविधिमार्फत प्रत्यक्ष/अप्रत्यक्ष रुपमा कोरोना भाइरस रोकथामको अभियानमा जुटेका देखिन्छन् । सामाजिक सञ्जालको प्रयोगमा कम अभ्यस्त देखिने काँग्रेसका शीर्ष पदाधिकारी तथा नेताहरु अहिले सामाजिक सञ्जाल र सूचना प्रविधिको उपयोगमा युवा नेताहरुसँगै अभ्यस्त बनेका छन् ।

उहाँहरु यतिखेर दैनिक रुपमा विभिन्न सामाजिक सञ्जालमार्फत सो भाइरसको सम्भावित जोखिम हुन नदिन आवश्यक जनचेतना फैलाउन, लकडाउन पालना गर्न जनतालाई अपिल गर्न तथा जनताका जनजीविकाका समस्या बारेमा सरकारको ध्यानाकर्षण गराई समाधानका गर्न सरकारलाई सुझाव दिन लागिरहनुभएको छ । साथै स्थलगत रुपमा सर्वसाधारणलाई राहत वितरण, विभिन्न सञ्चारमाध्यममार्फत जनआह्वान , टेलिफोन संवाद र केही भेटघाट गरेर समेत सो भाइरस रोकथामको अभियानमा सरकारलाई साथ र सहयोग दिइरहनुभएको छ ।

लकडाउन जारी रहदा काँग्रेस सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा सक्रिय देखिनुभएको छ । उहाँले दैनिकजसो सामाजिक सञ्जाल, टेलिफोन, सञ्चारमाध्यम, प्रेस विज्ञप्तिमार्फत सन्देश प्रवाह तथा संवाद गरेर कोरोना रोकथाम तथा नियन्त्रणको अभियानमा लागिरहनुभएको छ । यसै क्रममा सभापति देउवाले लकडाउन लागू भएपछि पहिलो पटक मङ्गलबार पदाधिकारी बैठक राखेर कोरोना सङ्क्रमणको रोकथाम सम्बन्धमा आवश्यक निर्णय गराउनुुभयो । गत आइतबार उहाँले पूर्वप्रधानमन्त्रीहरु माधवकुमार नेपाल, पुष्पकमल दाहाल, झलनाथ खनाल, डा बाबुराम भट्टराई, लोकेन्द्रबहादुर चन्द तथा मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीसँग टेलिफोनमा संवाद गरी कोरोना भाइरसको जोखिम हुन नदिन ऐक्यबद्ध भइ कार्य गर्न अपिल गर्नुभएको थियो ।

सभापति देउवाले लकडाउनका कारण दैनिक काम गरेर गुजारा गर्ने मजदूर, विपन्न समुदाय, व्यवसायी र सञ्चार क्षेत्रका लागिसमेत सहुलियतको राहत प्याकेज घोषणा गर्न सरकारलाई आग्रह गरिरहनुभएको छ ।

पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले पछिल्लो पटक सामाजिक सञ्जाल प्रयोगमा सयम दिनुभएको छ । उहाँले बिहीबार मात्रै कोरोना भाइरस सङ्क्रमणको सामाजिक तथा आर्थिक प्रभावसँगै अत्यावश्यक कृषि उपजको उत्पादन, बजारीकरण र व्यवस्थाबारे सहजीकरण कसरी गर्न सकिन्छ भनेर सम्बन्धित विज्ञ समूहसँग छलफल गर्नुभएको थियो । उहाँले भिडियो कन्फरेन्समार्फत सो विषयमा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्षद्वय डा गोविन्द पोखरेल र डा स्वर्णीम वाग्ले सहित प्रा डा कमल रिजाल, डा सुरज पोखरेल, डा सिद्धिगणेश श्रेष्ठ, डा माधवप्रसाद पौडेल, डा प्रद्युम्नराज पाण्डे, सहदेवप्रसाद हुमागार्इंसँग छलफल गर्नुभएको थियो ।

वरिष्ठ नेता पौडेलले यसअघि पनि फेसबुकमार्फत पटक पटक जनतालाई सम्बोधन गर्दै संयमित भई आत्मविश्वास बढाएर सरकारले जारी गरेको लकडाउनलाई पालना गर्न अपिल गर्नुभएको थियो । उहाँले कोरोना भाइरस सङ्क्रमण फैलिएका मुलुकबाट आएका नेपाली नागरिकको पहिचान गर्न नसकेका कारण आमनागरिकमा त्रास फैलिएको र विदेशबाट आएका नागरिकलाई स्वास्थ्य सेवाको पहुँचमा आफूलाई पु¥याउँदै स्थानीय तहको सम्पर्कमा बसी राज्यलाई सङ्कटमा सहयोग गर्न अपिलसमेत गर्नुभएको छ । साथै नेता पौडेलले आमनेपाली काँग्रेसका कार्यकर्तालाई स्थानीयस्तरमा सो भाइरसको जोखिम हुन नदिने सचेतना जगाउन निर्देशन दिनुभएको छ ।

काँग्रेस उपसभापति विमलेन्द्र निधिले सामाजिक सञ्जालमार्फत कोरोना भाइरसको सङ्क्रमण रोक्न विश्व स्वास्थ्य सङ्गठनले सुझाएका उपायको अक्षरशः पालना गर्नुको विकल्प नभएको भन्दै यसका लागि घरमै बस्न, सरसफाइमा ध्यान दिन तथा सचेत र सजग रहन आग्रह गर्नुभएको छ । साथै उहाँले लकडाउनका कारणले दैनिक मजदूरी गर्नेहरूलाई खाना खुवाउने अभियानमा सहयोग गर्नाका साथै उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई स्वास्थ्य उपकरण पनि सहयोग गर्नुभएको छ ।

महामन्त्री डा शशांक कोइरालाले फेसबुकमार्फत कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणका लागि परिणाममुखी काम गर्न सरकारलाई आग्रह गर्दै चिकित्सक, स्वास्थ्यकर्मीलाई आवश्यक पर्ने सुरक्षाका सामग्री तत्काल उपलब्ध गराई उच्च मनोबलका साथ फिल्डमा कार्य गर्ने परिस्थिति निर्माण गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । उहाँले अहिलेको अवस्थामा विदेशमा रहेका स्वदेश फर्कन चाहने नेपाली नागरिकलाई स्वदेश फर्कने व्यवस्था गर्न र देश प्रवेश नपाई दशगजामा अलपत्र रहेका नेपालीका सम्बन्धमा पनि आवश्यक व्यवस्था गर्न सरकारसँग अनुरोध गर्नुभएको छ ।

अर्का महामन्त्री पूर्णबहादुर खड्का पहिलेदेखि नै सामाजिक सञ्जालमा अभ्यस्त देखिनुहुन्छ । सहमहामन्त्री डा प्रकाशशरण महतले सामाजिक सञ्जालमार्फत सो भाइरसको जोखिम हुन नदिन र यस रोगबाट बच्न मास्कको प्रयोग गर्न जरुरी रहेको सन्देश दिँदै काठमाडौँका विभिन्न वडामा आफैँ पुगेर मास्कलगायत राहत सामग्री वितरण गर्नुभएको छ । साथै उहाँले विभिन्न सञ्चारमाध्यममार्फत जनतालाई कोरोना भाइरसको सङ्क्रमणबाट बच्न अपनाउनु पर्ने सतर्कताको आग्रह गर्नाका साथै यसको रोकथाम र उपचारमा सरकारलाई सुझाव र सल्लाह दिइरहनुभएको छ ।

पार्टीका केन्द्रीय सदस्य र युवा नेताहरुले नियमित रुपमा सामाजिक सञ्जालमार्फत कोरोना परीक्षणको दायरा बढाउनुपर्ने, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई आवश्यक स्वास्थ्य सामग्री र सहुलियत दिई प्रोत्साहन गर्नुपर्ने, सीमानामा अलपत्र नेपालीको उद्धार र व्यवस्थापन, विदेशमा रहेका नेपालीलाई सहज रुपमा स्वदेश आउने व्यवस्था गर्नुपर्ने, लकडाउनका कारण बढी प्रभावित दैनिक ज्यालादारी गरेर खाने तथा विपन्न समुदायलाई राहत दिनुपर्नेलगायत विषयमा सरकारको ध्यानाकर्षण गराइरहनुभएको छ । रासस