छैठौँ कोरोना भेटियो, बागलुङकी ६५ वर्षीया वृद्धामा संक्रमण

छैठौँ कोरोना भेटियो, बागलुङकी ६५ वर्षीया वृद्धामा संक्रमण

काठमाडौं, २० चैत । नेपालमा कोरोना भाइरस अर्थात् कोभिड १९ संक्रमितको संख्या ६ पुगेको छ । बिहीवार नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले छैठौँ नेपालीमा सङ्क्रमण देखा परेको जानकारी दिनुभएको हो ।

उहाँले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षण अनुसार छैठौँ व्यक्तिमा कोभिड १९ पोजिटिभ देखिएको बताउनुभयो । कोरोना संक्रमणको नतिजा पोजेटिभ आएको बिरामी बागलुङकी ६५ वर्षकी वृद्ध महिला भएको पुष्टि भएको छ । चैत्र ४ गते दोहाबाट काठमाडौं आएको उडानमा आएका व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण देखा परेको उहाँले बताउनुभयो ।
उक्त जहाजमा आउने तीन जनामा नेपालमा कोरोना संक्रमण पुष्टि भएको छ । अहिलेसम्म घरमै बसेकी छैठौं कोरोना संक्रमित बिरामीलाई अस्पताल ल्याउने तयारी भइरहेको चिकित्सकहरुले जानकारी दिएका छन् ।

यसअघि नेपालमा देखिएका पाँचैवटा कोभिड १९ सङ्क्रमणका घटनामा विदेशबाट फर्किएका नेपालीहरू जोडिएका थिए । हालसम्म ११ सय ८४ जनामा कोभिड १९ को परीक्षण गराएको उहाँले बताउनुभयो । त्यसमध्ये ११ सय ७८ मा सङ्क्रमण नदेखिएको र पाँच जनालाई आइशोलेसनमा राखेर उपचार जारी राखिएको प्रवक्ता देवकोटाले जानकारी दिनुभयो । पहिलो सङक्रमण वुहानबाट फर्किएका नेपालीमा देखिएको थियो र उनी उपचारपछि निको भएर घर फर्किसकेका छन् ।

पत्रकार सम्मेलन हेर्नुहाेस्