सिंगापुरबाट काठमाडौं आएका सिल्क एयरका दुई विमानलाई फर्काइयो

सिंगापुरबाट काठमाडौं आएका सिल्क एयरका दुई विमानलाई फर्काइयो

काठमाडौं, ९ चैत्र । नेपाल प्रवेशकालागि रोक लगाइएका देशहरुका यात्रु लिएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौं आएको सिल्क एयरको विमानबाट यात्रुलाई ओर्लन रोक लगाइएको छ ।

हिजो साँझ सिंगापुरबाट यात्रु बोकेर आएको विमानले कोरोना संक्रमणको जोखिममा रहेको भनेर नेपालले यात्रा प्रतिबन्ध लगाएको देशका विदेशी नागरिक समेत रहेकाले सबै यात्रुलाई विमानबाट ओर्लिन विमानस्थलले रोकेको हो ।

सिंगापुरबाट हिजो साँझ आएको उक्त विमानलाई यात्रुसहित सिंगापुरनै फर्काइएको छ । सो विमान शनिबार राति ८ बजेर ३५ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । सरकारले यूरोपका ४५ देशबाट नेपाल आउन रोक लगाइएको छ । पश्चिम एशिया र खाडीका १९ देशका साथै जापान र कोरियाबाट पनि आउन पाइने छैन ।