काठमाडौं, ८ चैत । खाना पकाउने ग्यासलगायत दैनिक उपभोग्य सामग्रीमा कालोबजारी गरे सरकारले कारबाही गर्ने भएको छ ।
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट र मन्त्रालयका उच्च अधिकारीबीच हिजो बसेको बैठकले ग्यास र उपभोग्य वस्तुको कालोबजारी गर्नेलाई ५ वर्षसम्म कैद सजाय गर्ने प्रक्रिया अघि बढाउने निर्णय गरेको हो ।
वाणिज्य तथा आपूर्तिमन्त्री भट्टले अत्यावशेक बस्तुको अभाव नहुने भन्दै अहिले सर्वसाधारण आत्तिनुपर्ने अवस्था नरहेको बताउनुभयो । साल्ट ट्रेडिङसँग मात्रै अहिले ३ महिनालाई पुग्ने चिनी र १० महिनालाई पुग्ने नुन मौज्दात रहेको उहाले बताउनुभयो । सरकारले नै सहुलियत पसल संचालनमा ल्याउने भएकाले उपभोक्तालाई कुनै पनि सामानको अभाव हुन नदिने उहाले जानकारी दिनुभयो ।
त्यस्तै केही दिनमा खाना पकाउने ग्यास पनि सहज हुने उहाले बताउनुभयो । आफूले यसअघि कालिमाटी फलफूल तथा तरकारी बजारको अनुगमन गरेको बताउँदै मन्त्री भट्टले फलफूल, तरकारीको नियमित आपूर्ति रहेको धारणा राख्नुभयो ।
सरकारले खाद्यान्न अभाव भए हेलिकप्टरबाट भएपनि ढुवानी गर्ने र कर्मचारी कामका लागि २४ घण्टा तयार रहनुपर्ने निर्णय पनि गरेको छ ।