मन्त्री हुनु त यस्तो पो !

मन्त्री हुनु त यस्तो पो !

सुर्खेत, ४ चैत । कर्णाली प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसी सवार गाडी सोमबार बेलुका छिन्चुबाट वीरेन्द्रनगर सुर्खेतका लागि गुडिरहेको थियो । भेरीगङ्गा नगरपालिकाको सत्तरी भन्ने ठाउँमा सडकको छेउमा राखेको स्थानीय केरामा उनको आँखा पुग्यो । चालकलाई गाडी रोक्न भनिन् । गाडी गतिमा भएकाले रोक्न खोजेको ठाउँभन्दा १ सय मिटर टाढा गएर रोकियो ।

गाडी रोकिएपछि दुई अपरिचित आठ/नौ वर्षका बालिका आएर हामीलाई सुर्खेत लगिदिनोस्, हामी तपाईंलाई पैसा दिन्छौँ भन्दै चालकलाई गुहारे । चालकसँग ती बालिकाको आग्रह सुनेपछि मन्त्री केसीको ध्यान गयो । उनले दुवैलाई आफूकहाँ बोलाएर सोधिन्, ‘नानी कहाँ हो घर ? तिमी दुवै यतिबेला कहाँ जाने हो ? तिमीसँग कोही छैन त ? किन तिमी दुवै यतिखेर एक्लै हिँडेको ?’

ती मध्ये एक बालिकाले आत्तिदै भनिन्, ‘हाम्रो घर भर्याङ खोरियो हो । त्यहाँबाट तीन घण्टा हिँडेर आएको । हामी सुर्खेत बसपार्क मामाकहाँ जाने हो । अन्य प्रश्नको भने उनले उत्तर दिन चाहिनन् ।’ पुनः मन्त्री केसीले सोधिन्, ‘तिम्रो मामाको नाम के हो ? बालिकाले भनिन् थाहा छैन । तिम्रो घरमा बुबाआमा हुनुहुन्न ? सानै छौँ, तिमीहरु भागेर आएजस्तो लाग्छ’, उनले प्रतिप्रश्न गगरिन् । आत्तिदै बालिकाले रुँदै घरमा कान्छी आमा भएको र उनले गाली गर्ने गरेको सुनाइन् ।

हातमा प्लाष्टिकको झोलामा केही लत्ताकपडा बोकेकी ती बालिकाले तारन्तार पैसा दिन्छु मामा घर पु¥याइदिन भन्दै आग्रह गरिरहिन । तर बाँकी प्रश्नको उत्तर नदिएपछि मन्त्रीले ‘ठिकै छ तिमीहरुलाई प्रहरी कहाँ बुझाउँछौँ’ भनिन् । यो सुन्नेबित्तिकै दुवै भाग्न कोसिस गरे । पछि उनले सम्झाइबुझाई गरेर उनीहरुलाई गाडीमा राखिन् ।

दुई सय मिटरअघि पुगेपछि सबैजना गाडीबाट ओर्लिए । संयोगवशः त्यहाँनेर दुवै बालिका अध्ययनरत मनिरामकाँडा आधारभूत विद्यालय भेरीगङ्गा नगरपालिका–१ सुर्खेतका शिक्षिका ललिता बुढाक्षेत्री भेटिइन् । मन्त्रीज्यू ! नमस्कार भन्दै यिनी दुई बालिका भागेर गएको सुन्दा तिनलाई कसरी भेटाउने होला भनेर गाडी कुरेर बसेको बताइन् ।

मन्त्री केसीले शिक्षिका बुढाक्षेत्रीलाई दुवै बालिकाको नाम, वतन, ठेगाना सोधिन् । उनको प्रश्नको जवाफमा शिक्षिका बुढाक्षेत्रीले दुवै बालिका भेरीगङ्गा नगरपालिका–१ भर्याङ खोरिया सुर्खेतका नौ वर्षीया दुर्गा सिंह र १० वर्षीया सुकमाया गुरुङ रहेको जानकारी दिइन् । उनका अनुसार दुर्गा मनिराकाँडा आधारभूत विद्यालय कक्षा ४ र सुकमाया कक्षा ३ मा अध्ययनरत छन् । उनले दुवै बालिकाले ३५० रुपैयाँ बोकेको र परीक्षा नदिई भागेर पाँच घण्टाको समयमा राजमार्गको सत्तरी भन्ने ठाउँमा पुगेको र परिवारले उनीहरुलाई खोजी गरिरेहको बताइन् ।

शिक्षिका बुढाक्षेत्री विद्यालयबाट बिदा लिएर सुर्खेत पुग्न करिब तीन घण्टाको पैदलयात्र गरेर राजमार्गमा बेलुका ५ः४० बजे पुगेकी थिइन् । मन्त्री केसीले बालिकाप्रति निकै दया राखी उनीहरुको उद्धार गरेको भन्दै शिक्षिकाले उनीप्रति कृतज्ञता प्रकट गगरिन् ।

साँझ परिसकेको र बालिकालाई घर पुर्याउन नसकिने भन्दै मन्त्री केसीले बालिकालाई वीरेन्द्रनगरसम्म उद्धार गरेर शिक्षिका बुढाक्षेत्रीको जिम्मा लगाएकी छन् । उनले शिक्षिका बुढाक्षेत्रीलाई घरपरिवारलाई राम्रोसँग सम्झाएर बालिकालाई बुझाउन र उनीहरुलाई कुनै पनि मानसिक, शारीरिक र मनोवैज्ञानिक पीडा एवं तनाव नदिन सुझाएकी छन् । यद्यपि उनीहरुको सही व्यवस्थापन गर्न नसिकए तुरुन्त जानकारी गराउनसमेत आग्रह गरेकी छन् । रासस