बैंक तथा वित्तीय संस्थामा पुराना कर्मचारीहरुको मात्र अखडा नबनाउन अर्थमन्त्रीको चेतावनी

बैंक तथा वित्तीय संस्थामा पुराना कर्मचारीहरुको मात्र अखडा नबनाउन अर्थमन्त्रीको चेतावनी

काठमाडौं, ७ माघ । अर्थमन्त्री डा. युवराज खतिवडाले बैंक तथा वित्तीय संस्थामा पुराना कर्मचारीहरुको मात्र अखडा नबनाउन चेतावनी दिनुभएको छ ।

मंगलबार काठमाडौंमा कृषि विकास बैंकको ५३ औं वार्षिकोत्सब कार्यक्रममा बोल्दै खतिवडाले बैंक तथा वित्तीय संस्थाहरु पुरानै कर्मचारीहरुको हाली–मुहाली भएकोले त्यो किसिमको अखडा नबनाउन आग्रह गर्नुभएको हो । पुराना कर्मचारीहरु स्वतः प्रमोसनबाट माथि जाने तर युवालाई प्रवेश नगराउनु बैंकिङ क्षेत्रको दुर्भाग्य भएको उहाको भनाई छ । प्रविधि सम्बन्धि ज्ञान सीप भएका युवाहरुलाई अवसर दिनु पर्ने उहाले बताउनुभयो ।

पछिल्लो समय नेपाली वित्तीय बैंकिङ प्रणाली सुधार हुँदै गएको बताउँदै उनले अर्थतन्त्र उकालो लागेको समयमा स्वाँ स्वाँ गर्ने र ओरालो लागेको समयमा लडिन्छ कि भन्ने चिन्ता नमान्नु पर्ने बताउनुभयो । अर्थमन्त्री खतिवडाले देशको वर्तमान अर्थतन्त्र ठीक ठाउँमा रहेको पनि बताउनुभयो । विश्व बैंक, एशियाल विकास बैंक र आईएमएफको रिपोर्टले समेत राम्रो छ भन्ने देखाएको उहाले स्पष्ट पार्नुभयो ।

राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले सम्पूर्ण वाणिज्य बैंकहरुले सहुलियतपूर्ण कर्जामा गम्भिर हुन आग्रह गर्नुभयो । कृषि बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले कृषि बैंकले देशको गरिबी निवारण, सर्वसाधारणलाई बैंकिङ पहुँचमा ल्याउन महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।