७ बुँदे विराटनगर घोषणापत्र जारी गर्दै विराट लेखक सम्मेलन सम्पन्न

७ बुँदे विराटनगर घोषणापत्र जारी गर्दै विराट लेखक सम्मेलन सम्पन्न

७ बुँदे विराटनगर घोषणापत्र जारी गर्दै विराट लेखक सम्मेलन सकिएको छ । नेपाली लेखक संघ मोरङको आयोजनामा भएको दुईदिने सम्मेलन ७ बुँदे घोषणापत्र जारी गर्दै समापन भएको हो । वरिष्ठ साहित्यकार प्राज्ञ दधिराज सुवेदीको संयोजकत्वमा गठित ५ सदस्यीय समितिले तयार पारेको घोषणापत्रमा लेखकीय स्वतन्त्रता र मानवीय नैसर्गिक स्वभावमा आस्था राख्दै सिर्जना कर्मका माध्यमबाट मानवीय मूल्य तथा सामाजिक लोकतन्त्रको प्रवद्र्धनमा प्रतिबद्ध रहने, नेपालका भाषा, साहित्य र संस्कृतिको संरक्षण, सम्वद्र्धन संवैधानिक लोकतान्त्रिक प्रणालीअन्तर्गत सञ्चालन गर्नेतर्फ ध्यानाकर्षण गराउने, भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण र सम्वद्र्धनका लागि ७ वटै प्रदेशमा अबिलम्ब प्रज्ञा प्रतिष्ठान गठन गर्न नेपाल सरकारको ध्यानाकर्षण गराउने उल्लेख गरिएको छ ।

संघका मोरङ अध्यक्ष गोकुल अधिकारीका अनुसार नेपालका सबै भाषा, साहित्य र संस्कृतिका मौलिक चिन्तन परम्पराको विकासका लागि अग्रसर रहने, भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्न एक–एक पुस्तकालय एवं बहुसांस्कृतिक संग्राहलयको व्यवस्था मिलाउन प्रत्येक प्रदेश सरकारलाई अनुरोध गर्ने, सबै प्रदेशका भाषा, साहित्य, कला र संस्कृतिको अध्ययन, अनुसन्धानलाई लेखक संघले निरन्तरता दिने र नेपाली लेखक संघबाट विराट लेखक सम्मेलनजस्ता वैचारिक विमर्शहरू सबै प्रदेशमा निरन्तरता दिने बुँदालाई घोषणा समावेश गरिएको छ ।

सम्मेलनको दोस्रो दिन वरिष्ठ समालोचक डा. लक्ष्मणप्रसाद गौतमले ‘प्रजातन्त्रवादी समकालीन नेपाली कविहरूका कवितामा राष्ट्रिय चेतना’ विषयक कार्यपत्र प्रस्तुत गरेको संघका सचिव मीनकुमार नवोदितले जानकारी दिए । २००८ सालमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको अग्रसरतामा स्थापित लेखक संघ हाल ६० भन्दा बढी जिल्लामा विस्तार भइसकेको छ । ७ वटै प्रदेशबाट उपस्थित ८० भन्दा बढी कविहरूले आ–सिर्जना प्रस्तुत गरेको कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. विष्णुविभू घिमिरे, प्राज्ञ दधिराज सुवेदी, विवश पोखरेल, वरिष्ठ आख्यानकार सनत रेग्मी, संघका अध्यक्ष श्रवण मुकारुङ, पूर्वमहासचिव वियोगी बुढाथोकीलगायतले सम्मेलनमा जारी भएको घोषणापत्र कार्यान्वयन गराउन सबै साहित्यकार मिलेर दबाब दिनुपर्नेमा जोड दिएका थिए । यसैबीच, सम्मेलनमा सहभागी हुन आएका लेखक साहित्यकारहरूले कृष्णप्रसाद कोइराला, तारणीप्रसाद कोइराला र वीपी कोइरालाले साहित्य सिर्जना गरेको स्थल कोइराला निवासको अवलोकन गरे । विराटनगरस्थित कोइराला निवास पुगेर साहित्यिक परिचर्चासमेत गरेका थिए ।

कार्यक्रममा प्राज्ञ दधिराज सुवेदीले कोइराला परिवारको राजनीतिमा मात्रै नभएर साहित्यिक क्षेत्रमा समेत अतुलनीय योगदान रहेको चर्चा गरे । उनले वीपीको साहित्यिक व्यक्तित्वका विषयमा प्रकाश पारे । त्यस्तै काठमाडौंबाट प्रकाशित हुने कल्पतरुको वीपी कोइराला साहित्यिक विशेषांकको कांग्रेस नेता डा. शेखर कोइराला, नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. विष्णुविभू घिमिरे, लेखक संघका केन्द्रीय अध्यक्ष श्रवण मुकारुङलगायतले विमोचन गरेका थिए ।