नेपाल भ्रमण वर्ष २०२०को भव्य समुद्घाटन

नेपाल भ्रमण वर्ष २०२०को भव्य समुद्घाटन

काठमाडौं, १६ पुस । सरकारले राष्ट्रिय महोत्सवकै रूपमा मनाउन लागेको नेपाल भ्रमण वर्ष २०२० को बुधबार औपचारिक सुरुवात भएको छ ।

बुधबार साँझ काठमाडौंको दशरथ रंगशालामा भव्य समारोहका बीच भ्रमण वर्षको औपचारिक शुभारम्भ गरिएको हो । भ्रमण वर्षको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नुभयो । उद्घाटन कार्यक्रममा नेपालको संस्कृति झल्कने नाचगान तथा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाको सहयोगमा राष्ट्रगान बजाइएको थियो । राष्ट्रगान सकिएलगत्तै बाजासहित रंगशालामा भ्रमण वर्ष २०२०को मानव साङ्लो बनाइएको थियो भने विभिन्न संघसंस्थाले परेड गरेका थिए ।

भ्रमण वर्षको ‘यति मस्कट’को सार्वजनिकसँगै राष्ट्रपति भण्डारी र पर्यटनमन्त्री योगेश भट्टराईले सम्बोधन गर्नुभएको थियो । राष्ट्रपति भण्डारीले नेपाल भ्रमण वर्ष २०२० सबैको सहयोग र सहभागितामा महाअभियानकै रूपमा अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो । भ्रमण वर्षलाई सफल बनाउन सबै एकजुट हुनुपर्ने उहाको भनाइ छ ।

त्यस्तै संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले विविधतायुक्त संस्कृति र प्रकृतिका अनुपम सम्पदाहरूको अनुभव सँगाल्न नेपाल आउन पर्यटकहरूलाई निम्तो गर्नुभयो । सरकारले भ्रमण वर्ष २०२० लाई प्रस्थानबिन्दु मानेको र यसले नेपाली पर्यटनमा नयाँ बाटो र उज्यालोतर्फको मार्गप्रशस्त गर्ने विश्वास मन्त्री भट्टराईले व्यक्त गर्नुभयो ।

सरकारले सन् २०२०लाई नेपाल भ्रमण वर्षको रुपमा मनाएर उक्त अवधिमा २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । उक्त लक्ष्यलाई सार्थक तुल्याउन सरकारी निजी क्षेत्र एवं आम सर्वसाधारण स्वःस्फूर्त रुपमा लागिपरेका छन् ।

सन् २०१८ मा १२ लाख हाराहारीमा विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन समारोहमा सहभागी हुन विभिन्न देशका विदेशी पाहुना पनि कार्यक्रममा सहभागी थिए ।