नेपाल भ्रमण वर्ष : टिपर र ट्रकमा भ्रमण वर्षको लोगो

नेपाल भ्रमण वर्ष : टिपर र ट्रकमा भ्रमण वर्षको लोगो

काठमाडौँ, १५ पुस । नेपाल भ्रमण वर्ष–२०२० को शुरुआतसँगै टिपर तथा ट्रकमा नेपाल भ्रमण वर्षको लोगो टाँसिएको छ । नेपाल टिपर तथा ट्रक व्यवसाय समितिले सोमबार एक कार्यक्रममा २०० टिपर तथा ट्रकमा भ्रमण वर्षको लोगो टाँसेको हो ।

कार्यक्रममा महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख, प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले भ्रमण वर्षमा २० लाख पर्यटक भित्र्याउन उक्त अभियानले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले पछिल्लो समय टिपर तथा ट्रक दुर्घटना बढ्दै गएको भन्दै यसलाई न्यूनीकरणका लागि विशेष अभियान सञ्चालन गर्नुपर्ने बताउनुभयो ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका उपाध्यक्ष यादवलाल श्रेष्ठले सरकारको नेतृत्वमा शुरु भएको भ्रमण वर्षलाई सफल बनाउन चालिएको कदम सराहनीय भएको बताउनुभयो । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ प्रदेश नं ३ का संयोजक धर्म रिमाल, समितिका अध्यक्ष रामकुमार चापागाईँलगायतले देशभर रहेका सबै टिपर तथा ट्रकमा भ्रमण वर्ष अङ्कित लोगो टाँसिने बताउनुभयो । रासस