हिमाली क्षेत्रमा आज तोल ल्होसार मनाइदै

हिमाली क्षेत्रमा आज तोल ल्होसार मनाइदै

काठमाडौं, ११ पुस । ल्होसार मध्येको सबैभन्दा पुरानो ल्होसार तोल ल्होसार आज मनाईदैछ । विशेषगरी यो हिमाली क्षेत्रका समुदायले मनाउने पर्व हो । नेपालका हिमाली जिल्लाहरु हुम्ला, जुम्ला, डोल्पा, मुगु, मनाङ्ग र तिब्बत तथा भुटानका मानिसहरुले पौष शुक्ल प्रतिपदाको दिनमा धुमधामका साथ तोेल ल्होसार मनाउने गरेका छन् ।

ल्होसार दुईवटा शब्द ‘लो’ ‘सार’ मिलेर बनेको छ । यसको अर्थ ल्हो अर्थात वर्ष वा साल हो भने छार वा सार को अर्थ नयाँ भन्ने हुन्छ । त्यसैले ल्होसारको अर्थ नयाँ बर्ष भन्ने बुझिन्छ । तोलको अर्थ समयचक्र हो । यो चाडमा घर आँगन लिपपोत गर्ने र नुहाएर पूजा गर्ने गरिन्छ । गहुँको पिठो आकाशतर्फ उडाएर देवताको विजय र भुत प्रेतको हार होस् भनि कामना गर्ने प्रचलन छ । तोल ल्होसारको अबसरमा मान्यजनबाट आर्शिवाद लिदै बाबरी रोटी, फुरौला, कन्दमुल आदि खाने गरिन्छ ।

ल्होसार मनाउने समुदायले ल्हो अर्थात् बर्ष बाह्रवटा भएको विश्वास गर्छन र बाह्र बर्षको नाम पशुपंक्षी र जीवजन्तुका नामबाट राखिएको हुन्छ । जस्तै मुसा‚ गाई‚ बाघ‚ बिरालो‚ गरुड‚ सर्प‚ घोडा‚ भेडा‚ चरा‚ कुकुर र सँगुर बर्ष । बाह्र बर्ष समाप्त भएपछी फेरी उही नाम दोहोर्‍याएर बर्षको गणना गरिन्छ । यसरी बाह्र बर्षलाई एक युगको परिकल्पना गरेको हुन सक्छ । त्यस्तै पाँच चक्र अर्थात् ६० बर्षमा ‘राप्चुङ‘ उत्सव विशेष महत्वका साथ मनाइन्छ ।

विभिन्न समुदायहरुले निम्न ल्होसार मनाउँदछन्

१. तोल ल्होसार पौष शुक्ल प्रतिपदा हुम्ला‚ मनाङ‚ डोल्पाका केही समुदाय

२. तमु ल्होसार पौषको १५ गते गुरुङ समुदाय

३. सोनाम ल्होसार माघ शुक्ल प्रतिपदा तामाङ समुदाय

४. ग्याल्बो ल्होसार फाल्गुन शुक्ल प्रतिपदा शेर्पा समुदाय