लाग्यो अब पुस् (बालकविता)

लाग्यो अब पुस्  (बालकविता)

– रमेशचन्द्र घिमिरे


पोहोरभन्दा अहिले जाडो
उस्, उस्, उस्
मङ्सिर मैना कटिहाल्यो
लाग्यो अब पुस्

सल्काउने हो झिर्कामिर्की
ओच्छ्याएर भुस्
थाहा छ कि छैन साथी
लाग्यो अब पुस्

खोज बैनी झिँगल्टा
घसेटा र झ्यासझुस्
धपाउने हो जाडोलाई
लाग्यो अब पुस्

आगो तापी, रमाउँदै
खेलौँ तामा टुस्
बाक्लो स्विटर् लाऊ कान्छा
लाग्यो अब पुस्

कहिले होला हुस्सु अनि
कुहिरो फासफुस्
घामको मुखै छेक्ने गरी
लाग्यो अब पुस् ।

घामको रापले नतातिन्जेल
कोही हुन्नन् खुस्
कठ्याङ्ग्रिने जाडो बोकी
लाग्यो अब पुस्


(२०७६/०९/०४) भोर्लेटार, लमजुङ