शतबीज छर्नेको घुइँचो

शतबीज छर्नेको घुइँचो

भद्रपुर, ९ मङ्सिर । झापाको प्रसिद्ध धार्मिकस्थल अर्जुनधारा जलेश्वरधाम र शिवसताक्षी धाममा बाला चतुर्दशी पर्वको अवसरमा आज बिहानैदेखि शतबीज छर्नेको घुइँचो लागेको छ ।

महाभारतकालमा अर्जुनले वाण हानी धरतीबाट जलधारा निकालेर गाईको प्यास मेटाएको पवित्रस्थल मानिँदै आएको अर्जुनधारा जलेश्वरधामलाई पूर्वको पशुपतिनाथसमेत भनिन्छ । दिवङ्गत आत्माको मोक्षका लागि धान, जौ, तिल, गहुँ, चना, मकै, कागुनोलगायत अन्नको शतबीज छर्ने धार्मिक परम्परा छ ।

आजका दिन शतबीज छर्दा सुन दान गरे बराबरको पुण्य मिल्ने र पितृले मुक्ति पाउने धर्मशास्त्रमा वर्णन गरिएको छ । शतबीज छर्न झापा, इलाम, पाँचथर, ताप्लेजुङसँगै भारतको दार्जिलिङ, आसाम र सिक्किमदेखि आएका हजारौँ हिन्दू भक्तजन आइतबार बेलुकादेखि नै धाममा जाग्राम बसेको धाम सञ्चालक समितिका अध्यक्ष नवीन गट्टानीले जानकारी दिनुभयो ।

शतबीज छर्न बिहानैदेखि भेला भएका भक्तजनलाई व्यवस्थित गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ भने स्वयंसेवकसमेत खटिएका छन् । सताक्षीधामलगायत दर्जनौँ शिवालयमा आज शतबीज छर्ने घुइँचो लागेको छ ।

सयवटा आँखा भएकी देवीको मन्दिरको रुपमा सताक्षीधाम परिचित छ । यहाँको शिवालय मन्दिरमा समेत शतबीज छर्न भक्तजन आएका छन् । दुवै स्थानमा गत सातादेखि धार्मिक अनुष्ठान भइरहेको छ । अर्जुनधाराको बामन महापुराण र सताक्षीधामको कोटीहोम महायज्ञको आज बाला चतुर्दशीमा समापन हुँदैछ । रासस