‘भूगोल साहित्य समाज’को तेस्रो श्रृंखला सम्पन्न

‘भूगोल साहित्य समाज’को तेस्रो श्रृंखला सम्पन्न

काठमाडाैं । राष्ट्रिय वाणिज्य बैकबाट सेवा निवृत्त भएका कर्मचारीको सक्रियतामा गठित भूगोल साहित्य समाजद्वारा मंसिर ४ गते दरबारमार्ग, काठमाडौमा आयोजित कवितायात्राको तेस्रो श्रृंखलामा डेढ दर्जन कविहरुले आफना सृजना मार्फत देशप्रेम, अध्यात्म र मानवताको शंखनाद गरे ।

वरिष्ठ कवि डा.बम बहादुर थापा जितालीको प्रमुख आतिथ्य र वरिष्ठ गजलकार राम बहादुर पहाडीको विशेष आतिथ्यमा सम्पन्न उक्त कविगोष्ठीमा बम बहादुर,जिताली, रामवहादुर पहाडी, विनोद नेपाल, त्रिभुवन चन्द्र वाग्ले, मुकुन्द अर्याल, दिनेश विक्रम थापा, मुकुन्द पौडेल, नवराज पुडासैनी, गोविन्द सिग्देल, धरणीधर गुरागाई, प्रकाश घायल, मानुषी रेग्मी, शेर बहादुर अधिकारी, उमेश तिम्सिना, पुष्पा केसी, लव खड्का, टेक बहादुर लौडारी, गंगा आचार्य, सोनिया केसी हरिश्चन्द्र गौतम लगायतले कविता वाचन, भक्ति गीत तथा गजल गायन गर्नुभएको थियो ।

कार्यक्रममा श्रष्टाहरुले रचना मार्फत कालापानीको मुद्दालाई कूटनैतिक तवरमा हल गर्न सरकारको ध्यानाकर्षण गराउनुका साथै मानव र अध्यात्मबीचको अन्योन्याश्रित सम्वन्ध झल्काउने भक्ति गीत समेत प्रस्तुत गरे । कार्यक्रमको तेस्रो श्रृंखला देशप्रेम,अध्यात्म एवं मानवताका आवाजहरु मुखरित गर्न सफल रहेको, कार्यक्रमका सहभागीको प्रतिक्रिया रह्यो ।

काठमाडौ स्थित राष्ट्रिय वाणिज्य बैक पूर्व कर्मचारी संघको सभा हलमा समाजका अध्यक्ष विनोद नेपालको सभापतित्व तथा सचिव शैलेन्द्रकुमार शाहको संचालनमा सम्पन्न उक्त कवि गोष्ठी करिव ३ घन्टा चलेको थियो ।