काठमाडाैं, १८ असाेज । दशैं भन्नेबित्तिकै आफूभन्दा ठूला मान्यजनबाट आशीर्वाद लिने र अत्यधिक खानपान गर्ने चाडका रूपमा लिइन्छ तर आशीर्वादसँगै अत्यधिक बढी मदिरा, मासु तथा अन्य परिकार खाने चाडका रूपमा दशैं मनाउँदा स्वास्थ्यमा नोक्सानी पुग्ने भन्दै चिकित्सक तथा पोषणविद्हरूले सन्तुलित खाना खान सुझाव दिएका छन्।
चाडपर्वका नाममा अत्यधिक मदिरा, मासु, मसलेदार परिकार खाने तथा स्वास्थ्यको ख्याल नगर्दा अस्पतालसम्म पुग्नु परेको धेरै घटना छन्। चिकित्सकले दशैंमा बढी मात्रामा चिल्लो, पिरो, बोसोयुक्त खानेकुरा खाँदा बिरामी नभएका मानिससमेत बिरामी पर्ने र बिरामी भएकालाई झनै खतरा हुनेतर्फ पनि विज्ञहरूले सतर्कता अपनाउनुपर्ने बताएका छन्।
अस्वाभाविक खानपानले मानिसको मिर्गौला, मुटु, कलेजोजस्ता अङ्गमा असर गर्नुका साथै उच्च रक्तचाप बढ्ने, शरीरमा कोलस्ट्रोलको मात्रा वृद्धि हुनेजस्ता समस्या देखा पर्छन्। वरिष्ठ पोषणविद् तथा त्रिवि पद्मकन्या क्याम्पसकी प्राडा उमा कोइरालाले दशैंमा खानपानमा ध्यान नदिँदा मानिसको स्वास्थ्यमा असर पर्ने बताए। पोषणविद् कोइरालाले खानपानमा ध्यान नदिने तथा जीवनशैलीमा आएको परिवर्तनले गर्दा सामान्य व्यक्ति पनि रोगी बन्ने र रोगी व्यक्तिका शरीरका अङ्गसमेत काम नलाग्ने हुनसक्ने हुनाले सन्तुलित खाना मात्र खान सुझाव दिए।
चाडबाडको नाममा खानपानमा ध्यान नदिँदा मानिसले स्वास्थ्यलगायत सामाजिक रूपमा समेत ठूलो क्षति बेहोर्नुपरेको छ, पोषणविद् कोइरालाले भन्नुभयो, “मानिसले दशैंको खानामा होस नपुर्याउँदा जटिल रोगको सिकार त हुन्छन् नै, अत्यधिक मदिरा सेवनका कारण घरपरिवार तथा समाजबाट समेत वहिष्कृत हुनु परेका धेरै उदाहरण छन्।”
पेटरोग विशेषज्ञ डा. भूपेन्द्रकुमार बस्नेतले चाडपर्वका नाउँमा अत्यधिक मदिरा, मासु र धेरै समयसम्म राखिएका खानेकुराले विभिन्न रोगको सिकार हुनुपर्ने बताए। उनले दशैंमा अत्यधिक मदिरा पिउनाले शरीरमा ग्लुकोज कमी हुने, डिहाड्रियसन हुने, मानिस उठ्नै नसक्ने अवस्थामा पुग्ने, शरीरले काम नगर्ने लगायतका समस्या देखापर्ने जानकारी दिए।
उनले अत्यधिक मदिरा सेवनका कारण मानिसको मृत्यु भएका धेरै घटना छन् भन्दै शरीरको हेरचाह गरी आफैँ सचेतना अपनाउन सुझाव दिए। डा. बस्नेतले ग्यास्ट्रिक, अल्सर भएका व्यक्तिले मदिरा, मासु खानुभन्दा अगाडि विचार पुर्याउनुपर्ने भन्दै असन्तुलित खानाले शरीरलाई फाइदा नगर्ने बताए।
डा. बस्नेतले दशैंमा मदिरा सेवनसँगै जुवातास खेल्ने र लाखौँ रुपियाँ हार्ने हुनाले आर्थिक क्षतिसमेत हुने हुँदा सन्तुलित आहार गर्नुपर्नेमा जोड दिए। उनले मदिरा सेवन गरिहाले पनि ९० मिलिलिटरभन्दा बढी नगर्न आग्रह गरे।
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीले मुटुरोगीले समेत बल्लबल्ल आउने दशैं भनेर अल्कोहल सेवन गर्ने गरेको जानकारी दिए। उनले दशैंमा मानिसले आवश्यकभन्दा बढी मासुको मात्राले जटिल किसिमका रोग लाग्ने बताए। खसी, बोका, राँगा र बङ्गुरको मासु रातो हुनाले मानिसलाई त्यत्तिकै असर गर्ने भन्दै उनले सकभर मासुमा बजारमा पाइने मसला हालेर नखान पनि आग्रह गरे। याे खबर आजकाे गाेरखापत्र दैनिकमा प्रकाशित छ।