हस्तक्षेप निम्त्याउँदै सत्ताको पर्खाइ

हस्तक्षेप निम्त्याउँदै सत्ताको पर्खाइ

काठमाडौं । भारतीय विदेशमन्त्री सुषमा स्वराजसँग होटेल सोल्टीमा भेटेपछि मिडियासँग कुरा गर्दै एमाले अध्यक्ष खड्गप्रसाद ओलीले भने–‘भारतका प्रधानमन्त्री नरेन्द्र मोदीजीले टेलिफोन गरेर केही कुरा भन्न खोज्नुभएको थियो, तर मैले यस्तो कुरा टेलिफोनमा गर्न अप्ठेरो हुन्छ,  तपाईको कुनै प्रतिनिधिसँग भेट गर्न चाहन्छु, त्यसैको परिणामस्वरूप विदेशमन्त्री स्वराज नेपाल भ्रमणमा आउनुभएको हो ।’ ओलीसँग भेट गर्नुअघि स्वराजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मिडियासँग भनेकी थिइन्– ‘यो मेरो नितान्त अनौपचारिक, तर राजनीतिक भ्रमण हो, प्रधानमन्त्री मोदीजीको प्रतिनिधिका रूपमा शुभकामना दिन आएकी हुँ ।’ तर उनको टिममा विदेश मन्त्रालयका उच्च अधिकारी तथा विभिन्न विषयका विज्ञसमेत सामेल थिए ।

सत्ताभन्दा बाहिर रहेको कुनै एउटा पार्टीको निमन्त्रणामा विदेशबाट राजनीतिक अतिथिहरू आउन नमिल्ने होइन । यो परम्परा विगतमा पनि छ । तर भारतीय विदेशमन्त्री स्वराज व्यक्तिगत रूपमा नेपाल भ्रमणमा आएकी होइनन्, भाजपाको नेतृका रूपमा पनि आएकी होइनन्, उनीसँग भारतको विदेश मन्त्रालयले नै नेपाल भ्रमण गरेको हो । चीनको मात्रै होइन, भारतको साथ, सहयोग र समर्थनसमेत आफ्नो पक्षमा रहेको  पुष्टि गर्न आफू सफल भएको ठम्याइँ एमाले अध्यक्ष ओलीको छ । सरसर्ती हेर्दा त्यस्तो देखिएको पनि छ । तर एमाले र सरकारमा रहेको नेपाली कांग्रेस सरकार बाहिर रहेको अवस्थामा कांग्रेसले यस्तो भूमिका निर्वाह गरेको भए राष्ट्रघात भएको भन्दै एमालेले यतिबेला सडकमा आगो बाल्ने थियो ।

कूटनीतिक भेटघाटको प्राथमिकता क्रम यसपालि तोडियो । कुनै पनि मुलुकबाट भ्रमण गरिने उच्च तहका व्यक्ति नेपाल आउँदा सर्वप्रथम सरकार प्रमुखसँग भेट हुने परम्परा थियो, तर यसपालि त्यसो भएन । विगतमा सरकार प्रमुखको भेटपछि मात्र प्रतिपक्ष र अन्य दलका नेताहरूसँग भेट्ने परम्परा थियो । आजका मितिसम्म सरकार प्रमुख शेरबहादुर देउवा हुन् । तर सरकार प्रमुखसरह केपी ओलीसँग भेट गरियो । मुलुकको प्रधानमन्त्रीलाई अन्तिममा औपचारिकता निभाउन मात्र भेटघाट गर्ने जसरी कार्यक्रम तय गरिएको पाइयो, त्यसलाई धेरैले उचित ठानेका छैनन् । राजनीतिमा जस अपसज पाउने सन्दर्भ व्यक्ति विशेषको भाग्य पनि रहेछ । नेपालको राजनीतिक क्षितिजमा देखिएका कयौं नेता भारतीय आशीर्वादबाट उदाएका थिए, छन् । उदाइरहने पनि छन् । मात्रै यति हो, उता सरकारमा बदलाव हुँदा धेरथोर प्रभाव यता पनि पर्ने गर्छ । भएको त्यही हो । हाल भारतमा मोदी भर्सेज ‘रअ’ को शीतयुद्ध नै चलेको छ । सुधीर शर्माले लेखेको प्रयोगशाला नामक किताब राम्ररी अध्ययन गर्ने हो भने नेपाली भूमिमा कुन नेताको के कस्तो प्रभाव छ अनि भारतीय विश्वास छ भन्ने कुरा प्रस्ट पाइन्छ ।

सुशील कोइराला सरकार प्रमुख हुँदा संविधान जारी भयो । भारतको मनसायविपरीत संविधान जारी गरेबापत नाकाबन्दी सुरु भयो । सुशीलले भारतलाई नटेरेकै कारण खटपट सुरु भयो । अर्थात् भारतको मनसायमा सुशील अथवा कांग्रेस नेतृत्व गएन । संविधान जारी भयो । लगत्तै सुशीलको छवि मात्र होइन, कांग्रेसलाई चोट खुवाउन उनकोे सोझो र शालीन व्यक्तित्वलाई भारतले मज्जाले प्रयोग गरेर प्रधानमन्त्रीमा उम्मेदवारी दिन उक्साइयो । एकाएक दलकै निर्णयबिना उनी उक्सिए । नाकाबन्दीपछि लामै समय सुशील नै सरकार प्रमुख थिए । सरकारले जेनतेन इन्धन पु¥याएको थियो । निजी र व्यक्तिलाई आयात गर्न पाउने छुट दिइएको थिएन । ओली आए एकाएक निजी र व्यक्तिगत रूपमा नाकाबाट इन्धन ल्याउन पाउने निर्णय गरे । बजारमा मनलागी कालाबजारी हावी भए । नाकाबन्दी भएको भान नै नहुने गरी कालाबजारी मौलाए ।
सयौं गुणा महँगोमा इन्धनका खातिर जनता खर्च गर्न बाध्य भए । भारतविरुद्ध चर्को रूपका बनावटी भाषण दिन माहिर ओली एकाएक चम्के । यो सब भाग्यको खेल पनि हो । नाकाबन्दीबाट आक्रोशित जनताले ओलीलाई नै जस दिए । जस पाइरहे । पाएकै छन् । त्यसैको खातिर मनग्गे भोट पनि पाए ।

यथार्थमा ओली विगतमा पनि भारतका भरपर्दा पात्र थिए । छन् । समृद्ध मुलुक निर्माणका लागि भारत चिढाएर होइन, रिजाएर मात्र सम्भव छ । तर भारतलाई रिझाउने नाममा ओली नांगिएको विश्लेषण गरिएको छ । ओलीले भारतीय विदेशमन्त्रीबाट प्रधानमन्त्रीका लागि प्रतिबद्धता खोजेका थिए, सायद पाए पनि ।

समाचार स्रोतका अनुसार निर्वाचन सम्पन्न भएलगत्तै ओली रसुवागढी पुगेका थिए । रसुवागढीमा उनले क–कसलाई भेटे ? भन्ने कुरामा भारत बेखशर थिएन । त्यसलगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ओलीलाई टेलिफोन गरे । ओलीलाई मात्रै फोन गर्दा गलत सन्देश जाने भएकाले उनले सोही दिन प्रधानमन्त्री शेरबहादुर देउवालाई फोन गरेर निर्वाचन सम्पन्न गराएकोमा बधाई दिए । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पनि उनले फोन गरे । राष्ट्रिय सभाको निर्वाचनविना प्रतिनिधिसभाको समानुपातिकतर्फको परिणाम आउन नसक्ने व्यवस्था संविधानको धारा १८४ को उपधारा ८ मा स्पष्ट व्यवस्था छ । यो व्यवस्था एमालेकै नेता सुवास नेम्वाङले संविधानसभाको अध्यक्ष भएका बेला चोर बाटोबाट गरेका हुन् । त्यतिबेला एमालेकै नेतृत्वको सरकारले चुनाव गराउने अवसर पाउने परिस्थिति थियो । संविधानमा भएको व्यवस्थाकै कारण सत्ता हस्तान्तरणमा ढिलाइ हुँदै गए पनि ओलीले प्रधानमन्त्री देउवा र भारतको इसारामा प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले पासो थापेको आरोप सार्वजनिक रूपमा लगाउँदै गए । निर्वाचन सम्पन्न भएको   लामो समय बितिसक्दा पनि नयाँ सरकार गठन नभएका कारण एमालेको त्यो आरोप सर्वसाधारणले पत्याउने अवस्था सिर्जना हुँदै गयो । सत्ता हस्तान्तरणमा ढिलाइ हुनुमा आफ्नो भूमिका छैन भन्ने कुरा नेपाली जनतालाई विश्वास दिलाउन भारतीय प्रधानमन्त्री मोदी चाहन्थे । यसका लागि उनले एमाले अध्यक्ष ओलीसँग कुरा राख्न चाहे । तर न मोदी नेपाल आउन सम्भव भयो, न त ओलीले दिल्ली भ्रमण गर्ने हिम्मत राखे । दिल्ली जाँदा आफ्नो नकाव उत्रिने डर ओलीलाई भयो । यही बीचमा ओली बैंकक गए । मोदीका प्रतिनिधिले बैंककमै भेट्ने तय भएको स्रोतहरूले बताएका छन् । तर ओलीले बैंकको सांग्रिला होटलमा भेटेको चर्चा राजधानीमा फैलियो । चीनका उच्च तहका कूटनीतिज्ञहरू बस्ने थाइल्यान्डका ठूला दुईवटा होटलमध्ये एउटा हो सांग्रिला । ओलीकोे बैंकक बसाईका क्रममा भारतीय जासुसी संयन्त्रका प्रतिनिधि पनि भेट्न पुगेको समाचार स्रोतहरू बताउँछन् । ओली चिनियाँहरूसँग निकै अघि बढेको सूचनाका आधारमा ओली काठमाडौं फर्कना साथ मोदीले फेरि टेलिफोन गरे । त्यही टेलिफोनपछि सुषमा स्वराज काठमाडौं भ्रमणमा आउने तय भएको ओलीले सार्वजनिक रूपमै बताइसकेका छन् ।
नेपाल भ्रमणमा रहँदा स्वराजले ओलीसँग मात्रै नभएर प्रधानमन्त्री देउवा र माओवादीका अध्यक्ष प्रचण्डसँग पनि भेटवार्ता गरिन् । ओलीसँग मात्रै कुरा गर्दा गलत सन्देश जाने भएकाले मात्रै प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डसँग पनि कुराकानी गरिएको हो, स्रोतले भन्यो । तर परराष्ट्र मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री देउवाले स्वराजसँगको भेटघाटमा परराष्ट्र मन्त्रालयका अधिकारीहरूलाई राख्न पूर्वतयारीको समयसमेत पाएनन् । भारतका तर्फबाट भने विदेश मन्त्रालयका अधिकारीहरू पनि सामेल भए । संविधान घोषणा हुनुअघि भारतीय विदेश सचिव एस जयशंकरले जुन ढंगको भ्रमण गरेका थिए, त्यो भन्दा सुषमा स्वराजको यो भ्रमण पृथक् होइन । फरक यति हो कि जयशंकरको भ्रमणले भारत एक्स्पोज भएको थियो भने यतिबेला ओलीको राष्ट्रवादको नकाव मज्जाले उत्रिएको विश्लेषण गरिएको छ । तर नेपालमा कम्युनिस्ट पार्टी सधैंका लागि सत्तारुढ हुन लागेको हो कि ? बहुदलीय व्यवस्थाभित्रकै कुनै एउटा पार्टीले चुनाव जितेर पाँच वर्षका लागि सत्ता सञ्चालन गर्न गइरहेको हो ? भन्ने कुरामा भारतीय सत्ता स्पष्ट नभएको देखिएको छ ।

भारतलाई चिढ्याउनु हुन्न, भारत नेपालमा लोकतन्त्रको स्थायित्व चाहन्छ भन्ने स्कुलिङमा हुर्केका नेपाली कांग्रेसका कार्यकर्ताहरूमा भने भारतीय प्रधानमन्त्री मोदीका गतिविधिप्रति अन्योलता देखिएको छ । नेपाली कांग्रेसका सभापति सुशील कोइराला प्रधानमन्त्रीका रूपमा एकपटक पनि भारत भ्रमणमा नगई बिदा भएका थिए । सुशील कोइराला प्रधामन्त्री हुँदा लगाइएको नाकाबन्दी ओली प्रधानमन्त्री भएपछि खुलेको थियो । ओलीले गराउन नसकेको आमनिर्वाचन नेपाली कांग्रेसको नेतृत्वमा भएको थियो ।

कम्युनिस्टहरू सरकारमा रहँदा जारी हुन नसकेको संविधान नेपाली कांग्रेस  नेतृत्वको सरकारले जारी गरेको थियो । संविधान निर्माण तथा कार्यान्वयनमा नेतृत्वदायी भूमिका निर्वाह गरेबापत नेपाली कांग्रेसलाई मानमर्दन गर्न भारत उद्यत रहेको पो हो कि ? भन्ने विश्लेषणमा कांग्रेसका कार्यकर्ताहरू पुगेका हुन् भने कांग्रेसका लागि पनि सोचनीय विषय हुने छ । साभारः तरुण खबर डट कमबाट