कथाकार मनु ब्राजाकीको निधन

कथाकार मनु ब्राजाकीको निधन

काठमाडौं । कथाकार मनु ब्राजाकीको निधन भएको छ । लामो समयदेखि निमोनियाले ग्रस्त रहेका ब्राजाकीको शुक्रबार बिहान पाटन अस्पतालमा उपचारको क्रममा निधन भएको हो । उनका अन्नपूर्णाको भोजसहितका कथासंग्रह प्रकाशित छन् ।

उनले २०७० सालमा अन्नपूर्णाको भोज कथा संग्रहकै लागि पद्यश्री पुरस्कार पाएका थिए । व्यंग्यचेतना र मनोवैज्ञानिक पक्षलाई समेटर लेखिने कथाका लागि ब्राजाकी चर्चित छन् ।

साहित्यकार ब्राजाकीको खास नाम चेतमानसिंह भण्डारी हो । उनको १९९९ साउन १९ मा महोत्तरीको औरहीको नैनीगौरीमा जन्मिएका ब्राजाकीको ७५ वर्षको उमेरमा निधन भएको हो ।

उनीको पहिलो प्रकाशित रचनाको रुपमा २०१९ सालमा जनकपुरबाट प्रकाशित भएको भ¥याङ कथालाई लिने गरिन्छ । उनका अवमूल्यन कथासंग्रह २०३८, आकाशको फल कथासंग्रह २०४२, तिम्री स्वास्नी र म कथासंग्रह २०४६, भविष्य यात्रा, पारदर्शी मान्छेसहितका कथा संग्रह प्रकाशित भएका छन् ।

यस्तै गजलगंगा र काँडाका फूलहरुसहितका गजलसंग्रह पनि प्रकाशित छन् । उनले मैनाली कथा पुरस्कार २०३९, साझा पुरस्कार २०४६, गंगालक्ष्मी पुरस्कार २०४७, सर्वश्रेष्ठ पण्डुलिपी पुरस्कार २०५१, दायित्व प्रतिभा पुरस्कार २०६१, पद्यश्री पुरस्कार २०७० सहितका पुरस्कार तथा सम्मान पाएका छन् । उनको नेपाली भाषा साहित्यमा ठूलो योगदान रहेको साहित्यकार गीता त्रिपाठीले बताइन् ।