

काठमाडौं, २१ असार । काठमाडौं मेलम्ची खानेपानी आयोजनाका समान आपूर्तिकर्ता, सहायक ठेकेदार कम्पनी र मजदूरको वास्तविकता छानविन गर्न गठित अध्ययन कार्यदलले बाँकी रहेको दाबी भुक्तानीको तत्काल व्यवस्थापन गर्न मेलम्ची खानेपानी विकास समितिलाई निर्देशन दिएको छ ।

कार्यदलले शुक्रवार समितिलाई प्रतिवेदन बुझाउँदै श्रमिकहरु र स्थानीय सप्तायर्सहरुलाई प्राथमिकतामा राखी अन्य दाबी भुक्तानी पाउन बाँकी रहेको रकम सम्बन्धित निकायबाट छोटो प्रक्रियामार्फत भुक्तानी दिन भनेको हो ।

भुक्तानी रकमको स्रोतको लागि आयोजनाको मुख्य ठेकेदार कम्पनी सीएमसीको जफत गरिएको रकमलाई नीतिगत निर्णय गराई भुक्तानी योग्य बनाउन वा सरकारले अन्य स्रोतको व्यवस्थापन गर्न कार्यदलले निर्देशन दिएको छ । साथै स्थानीय स्तरमा उपलब्ध दक्ष एवम् अनुभवी जनशक्तिको प्रयोग गरी आयोजनाको बाँकी काम सम्पन्न गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ ।












